भक्तपुरको मध्यपुरठिमी नगरपालिका-३ गठ्ठाघरमा देखिएको चितुवालाई नियन्त्रणमा लिइएको छ।
आज बिहान २ महिलालाई आक्रमण गरी प्रबिन पेट्रोल पम्पपछाडि २ घरको चेपमा बसेको चितुवालाई पौने १२ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।
चितुवाको आक्रमणबाट सोही स्थानमा बस्ने ६५ वर्षीया अमृता कँडेल र २२ वर्षीया संगिता आलेमगर घाइते भएका छन्। घाइतेहरूको उपचार मध्यपुर अस्पतालमा उपचार भइरहेको डिएसपी पाठकले जानकारी दिए।
चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयका प्राविधिक टोली बोलाइएको थियो। वन कार्यालयको टोली बिहान पौने ९ बजे चितुवा लुकेर बसेको स्थानमा पुगेको थियो।
चितुवालाई नियन्त्रणमा लिन चार पटक डार्ट हानिएको डिभिजन वन कार्यालय हात्तिसारका सूचना अधिकारी तथा वन अधिकृत अशोक पराजुलीले जानकारी दिए।
‘चितुवा पनि ठूलो थियो। दुईवटा घरको चेपमा बसेकाले डार्ट गर्न अप्ठ्यारो थियो,’ सूचना अधिकारी पराजुलीले भने।
उनका अनुसार चार पटक डार्ट हानेपछि चितुवा नियन्त्रणमा आएको हो। घरको छतबाट डार्ट गरिएकाले पहिलो डार्ट चितुवालाई नलागेको उनले बताए। कार्यालयका पशु चिकित्सक डा. आशुतोष भट्टले डार्ट हानेका थिए।
पहिलो डार्ट नलागेपछि त्यसपछि तीनवटा डार्ट हानेपछि चितुवा बेहोस भएको थियो। चितुवालाई अहिले सदर चिडियाखाना लैजाँदै गरिएको सूचना अधिकारी पराजुलीले जानकारी दिए।