दोलखाली पत्रकार समाजको अध्यक्षमा ज्ञानेन्द्र कार्की निर्वाचित भएका छन्।
शुक्रबार काठमाडौंको बत्तिसपुतलीमा सम्पन्न समाजको विशेष साधरणसभाबाट नयाँ पत्रिकाकर्मी कार्की अध्यक्ष पदमा सर्बसम्मत निर्वाचित भएका हुन् । त्यस्तै, उपाध्यक्षमा राससमा कार्यरत मुना कार्की र सचिवमा नयाँ पत्रिकाकर्मी कृष्ण रिजाल निर्वाचित भएका छन् ।
त्यस्तै, कोषाध्यक्षमा रेडियो नेपालमा कार्यरत मनुका कुँवर र सदस्यहरुमा ज्योती जिसी, सुवास योञ्जन, युवराज बस्नेत, बालिका शिबाकोटी र कालिका शिबाकोटी निर्वाचित भएका छन् ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा समाजका संस्थापक अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न विशेष साधरणसभामा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, पूर्व पत्रकारद्वय कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिबाकोटी र माओवादी केन्द्रका केन्द्रीय सदस्य बलराम थापा तथा वरिष्ठ पत्रकार चन्द्रशेखर अधिकारीलगायतले शुभाकामना मन्तव्य राखेका थिए । उनीहरुले जनतालाई सूचित गर्ने काममा उच्च व्यबसायिक अभ्यासमा जोड दिँदै गृह जिल्ला दोलाखाको समग्र विकासका विषय उठानमासमेत पत्रकारहरुले विशेष भूमिका खेल्नुपर्ने बताएका थिए ।
विशेष साधरणसभामा प्रेस चौतारी नेपालका उपमहासचिव शुरोजंग पाण्डे, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य टेकराज थामी, न्यायिक पत्रकार मञ्चकी अध्यक्ष कालिका खड्का, नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष सुजन ओली, संसदीय मामिला पत्रकार समाजका पूर्वअध्यक्ष नारायण काफ्लेसमेत उपस्थित थिए ।
दोलखाबाट काठमाडौं आई विभिन्न संचार माध्यममा क्रियाशील पत्रकारहरुको भेलाबाट २०६५ सालमा स्थापित समाजमा साँढे दुई सय पत्रकार संगठित छन् ।