तनहुँमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक पुरूषको मृत्यु भएको छ।
शुक्रबार साँझ ६ बजे तनहुँको म्याग्दे गाउँपालिका-३ स्थित पृथ्वी राजमार्ग सडकखण्डमा पोखराबाट दमौली आउँदै गरेको ग १ ख २९४१ नम्बरको हाइस गाडीले विपरित दिशाबाट आउँदै गरेको लु ४६ प ४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार तनहुँको म्याग्दे गाउँपालिका-७ बाँसस्वाराका ५५ वर्षीय गंगाबहादुर बरालीको मृत्यु भएको हो।
तनहुँका डिएसपी मोहनबहादुर खाँणका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका बरालीको जिल्ला अस्पताल दमौली तनहुँमा उपचारका क्रममा मृत्यु भएको हो।
मोटरसाइकलका चालक सोही स्थानका १९ वर्षीय विशाल बराली घाइते रहेका र उनको उपचार भइरहेको डिएसपी खाँणले जानकारी दिए।
मोटरसाइकललाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको छ।