अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनले भुकम्प प्रभावित क्षेत्रहरुमा पहिलो चरणको राहत सामग्री वितरण गरेको छ। पहिलो चरणमा संस्थाले पूर्णरुपमा क्षति भएको ७०७ घरधुरीमा राहत सामग्री वितरण गरेको छ।
जाजरकोट र रुकुम पश्चिमका साझेदार संस्था, स्थानीय तह लगायतसँगको समन्वयमा ७०७ परिवारका ४५३० जनालाई राहत वितरण गरिएको सेभ द चिल्ड्रेन फिल्ड कार्यालय सुर्खेतका प्रमुख रत्न ओझाले जानकारी दिए।
उनका अनुसार जाजरकोटको भेरी नगरपालिकाका वडा नम्बर १, ३ र ४, कुशे गाउँपालिकाको वडा नम्बर ७ र रुकुम पश्चिमको सानीभेरी नगरपालिका वडा नम्बर १ मा राहत वितरण गरिएको हो।
भुकम्प प्रभावितका लागि तत्काल आवश्यक पर्ने बालबालिकाका लागि सरसफाई सामग्री, त्रिपाल, कम्बल, न्यानो कपडा, भान्साका लागि आवश्यक भाँडा लगायतका सामग्री राहतस्वरुप वितरण गरिएको ओझाले बताए।
दोस्रो चरणमा भुकम्प प्रभावित क्षेत्रका बालबालिकाको शिक्षाको लागि काम गर्ने योजना रहेको उनले जानकारी दिए।