ज्वरो आउने भनेको भाइरस ब्याक्टेरियाको संक्रमणले हो। कुनै पनि संक्रमण शरीरमा छिरेपछि शरीरको प्रतिरोधात्मक प्रणालीको विकास हुन्छ। त्यो विकास हुँदै गर्दा ब्याक्टेरिया भाइरस मार्नका लागि प्रतिरोधात्मक प्रणालीले दिमागमा रहेको तापक्रम सेट गर्ने ठाउँ(थर्मोस्ट्याट) लाई सक्रिय बनाउँछ। जब मस्तिष्कले थर्मोस्ट्याटलाई बढाइदिन्छ तब शरीरको तापक्रम बढाउन पर्ने भएकाले जाडो हुन्छ। प्रतिरोधात्मक क्षमताको कारणले हामीलाई जाडो हुने, काम्ने हुने हुन्छ।
शरीरले तापक्रम बढाउनै खोजेकोले हामीले कपडा ओढे पनि शरीरको तापक्रम बढ्छ। हाम्रो दिमागले सेट गरेको तापक्रम त शरीरले बनाउँछ तर कपडा ओढ्यो भने तापक्रम झन् बढ्ने खतरा हुन्छ। त्यसैले धेरै कपडा ओढ्न हुँदैन। हामीलाई त मोटा मोटा सिरक नै ओढ्न मन हुन्छ। तर सकेसम्म पातला कपडा मात्रै ओढ्न पर्छ। जाडो भयो जस्तो लाग्यो भने तापक्रम घटाउन सिटामोल खाने हो। त्यसले शरीरलाई राम्रो गर्छ। जाडो भयो भनेर कपडा माथि कपडा खप्ट्याउने काम भयो भने झन् जाडो हुन्छ र ज्वरो पनि बढ्छ।
जुनसुकै कारणले ज्वरो आएको भए पनि जाडो हुन्छ। त्यसमा पनि मलेरियाको कारणले ज्वरो आउँदा धेरै जाडो हुने, काम्ने हुन्छ। त्यस्तै पिसाब, किड्नीको संक्रमण भयो भने धेरै जाडो हुन्छ।शरीरको कुनै भागमा पिप जमेको छ भने जाडो धेरै हुन्छ। डेंगी, स्क्रब टाइफसजस्ता रोगका कारण ज्वरो आउँदा पनि जाडो हुन्छ।
लक्षणकै आधारमा ज्वरो पत्ता लगाउन अलि कठिन हुन्छ। कुनै समयमा के कारणले ज्वरो आएको छ भनेर पत्ता लगाउन सक्नुपर्छ। डेंगीको ज्वरोमा शरीर धेरै दुख्ने, टाउको, ढाड दुख्ने लगायत हुन्छ। भाइरल हुँदा समेत यस्तो हुन्छ। तर डेंगी हुँदा अझै बढी हुन्छ। टाइफाइड भएको बेला शरीर धेरै दुख्ने हुँदैन। पेट दुख्ने, उल्टी हुने भयो भने टाइफाइडको लक्षण हो कि भन्ने देखिन्छ।
भाइरलका कारण आएको ज्वरोमा भने रुघाखोकी धेरै लाग्ने नाक बन्द हुने हुन्छ। फ्लु र कोभिड छुट्ट्याउन भने अलि गाह्रो हुन्छ।
ज्वरोका धेरै कारण हुन्छन्। भाइरस, ब्याक्टेरियाबाहेक बाथका रोगका कारणले समेत ज्वरो आउँछ। त्यसैले ज्वरोको लक्षण अनि परीक्षणका आधारमा उपचार हुन्छ। सामान्यत ज्वरो आउँदा सिटामोल र पानी पट्टी गर्ने चलन छ। तर पानी पट्टी गर्दा धेरै चिसो पानीको प्रयोग गर्न हुँदैन। धाराको पानीको तापक्रम अनुसारको पानी प्रयोग गर्नुपर्छ। अरू उपचार भने समस्याको आधारमा गर्नुपर्छ। १/२ दिन घरमै बसेर ज्वरोको उपचार गर्न सकिन्छ। तर यस्तो गर्दा समेत ठीक भएन रगतको परीक्षण गरेर उपचार गर्नुपर्छ।
(वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा.प्रमोद पौडेल भरतपुर अस्पताल र मौलाकालिका अस्पतालमा कार्यरत छन्।)