मोरङ उर्लाबारीस्थित एउटा सुन पसलमा आगलागी भई ग्यास सिलिण्डर विष्फोट हुँदा आइतबार राति ४ प्रहरीसहित २८ जना घाइते भएका छन्।
आगलागीमा परेर घाइते भएकामध्ये पाँच जनाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।
राति साढे १० बजे भएको घटनामा घाइतेमध्ये उर्लाबारी नगरपालिका वडा नम्बर ७ का कुमार तामाङ, शिवकुमार विक, सुमन चौधरी, कैलाश गुरुङ, रामनरेश मरिकको स्वास्थ्य अवस्था गम्भीर रहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालले जानकारी दिए।
उनका अनुसार घाइतेहरूमध्ये १२ जनाको बिएण्डसी झापा, ७ जनाको विराट नर्सिङ, ५ को आर्या न्यूरो र ३ जनाको विराट टिचिङमा उपचार भइरहेको छ। घाइतेहरूमध्ये अधिकांशको शरीरको अगाडिको भाग जलेको छ।
‘राति साढे १० बजेतिर उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा आगलागी भएको थियो’, दाहालले भने, ‘घरको माथिल्लो तलामा घरधनी बस्ने हुँदा प्रहरी उद्धारका लागि पुगेको थियो। त्यहीबेला सुनचाँदी पसलमा रहेको ग्यास सिलिण्डर विष्फोट हुँदा धेरैलाई आगोको लप्काले भेट्यो। बाटोमा उभिएकाहरूलाई पनि घाइते बनाउने गरी सिलिण्डर विष्फोट भएको थियो।’
प्रहरीका अनुसार केही घाइतेको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको छ। आगोले जलेर गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि विराटनगर बाहिर लैजाने तयारी भइरहेको प्रहरीको भनाइ छ।