बेइजिङमा भएको २७ औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपालले कास्य पदक हात पारेको छ।
कात्तिक २० गतेदेखि २८ गतेसम्म भएको उक्त ओलम्पियाडमा नेपालका दृशान्तकुमार महर्जनले कास्य पदक हात पारेका हुन्।
नेपाल एस्ट्रोनोमिकल सोसाइटीको तर्फबाट भाग लिएका उनले कास्य पदक प्राप्त गरेका हुन्।
यसअघि सन् २०१९ मा राहुल रञ्जन साहले कास्य पदक हात पारेका थिए।
सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार नेपालमा सन् २०१४ बाट राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड सुरू गरिएको थियो।
त्यसयता हरेक वर्ष विद्यार्थीहरूले विभिन्न अन्तर्राष्ट्रिय ओलम्पियाडहरूमा भाग लिँदै आएका छन्।
सन् २०२२ मा स्थापित अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक विज्ञान ओलम्पियाड–जुनियरमा हालसम्म नेपाली विद्यार्थीहरूले ३ अनरेबल मेन्सन अवार्ड हात परेको सोसाइटीले जनाएको छ।
योसँगै नेपालले हालसम्म अन्तर्राष्ट्रियस्तरमा ३ कास्य पदक तथा १५ अनरेबल मेन्सन अवार्ड हात पारिसकेको छ। सोसाइटीले सन् २०१८ देखि अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा सहभागी हुँदै आएको छ।
राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड के हो?
सोसाइटीका अध्यक्ष भट्टराईका अनुसार राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड एक प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक प्रतियोगता हो।
यस प्रतियोगितामा सामेल भई उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि सिफारिस गरिँदै आएको छ।
सन् २०१४ बाट सञ्चालन गरिएको यस प्रतियोगिताबाट ३००० भन्दा बढी विद्यार्थीले आफ्नो प्रतिभा परीक्षण गरिसकेका छन् भने यस कार्यक्रमले उत्कृष्ट ठहराएका विद्यार्थीहरू देश तथा विदेशमा रहेका उत्कृष्ट विश्वविद्यालयमा अध्ययनरत छन्।
नेपालमा सञ्चालित विभिन्न राष्ट्रिय ओलम्पियाडमध्ये राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड कक्षा ८–१२ अध्ययनरत १३–२० वर्षका विद्यार्थीहरूलाई जुनियर तथा सिनियर विधामा छनोट गरी अन्तर्राष्ट्रियस्तरमा नेपालको तर्फबाट उत्कृष्ट गर्ने सातै प्रदेशमा छनोट परीक्षा सञ्चालन हुने एक राष्ट्रिय कार्यक्रम हो।