सिन्धुलीको कारागारभित्र थुनुवाको मृत्यु भएको घटनामा एक विद्यालयले मृतकका भतिजीलाई कक्षा १० सम्म पढाउने सहमति जनाएको छ।
दुधौली नगरपालिका-१० का ३० वर्षीय विमल थापाको कारागारभित्र बिहीबार बिहान करिब ३ बजे मृत्यु भएको थियो।
सवारी ज्यान मुद्धामा पुर्पक्षका लागि थुनामा रहेका उनको मृत्यु भएपछि मृतक परिवारले शंका व्यक्त गरेका थिए। जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले यो घटना शंकास्पद नदेखिएको बताए।
‘राति देउसी-भैलो खेलेर रमाइलो गरेका छन्। खानपिन गरी सुतेपछि बिहानपख एक्कासी गाह्रो भएर बेहोस भएका थिए,’ उनले भने, ‘सिन्धुली अस्पताल पुर्याउँदा मृत घोषणा भएको थियो।’
कारागारभित्र उनको मृत्यु भएपछि मृतक परिवारले केहीबेर राजमार्ग पनि अवरूद्ध गरेका थिए। अवरूद्ध गरेर पछि छलफलका लागि उनीहरू जिल्ला प्रहरी कार्यालय सिन्धुली पुगेका थिए।
छलफलको क्रममा श्री कमलामाई बोर्डिङ स्कुलका प्रतिनिधिहरू समेत थिए।
मृतक थापा उक्त विद्यालयका बस चालक थिए। गत भदौमा दुधौली नगरपालिका-१३मा बसको ब्रेक फेल भई ठक्कर दिँदा अटोमा सवार सम्मरबहादुर लामाको मृत्यु भएको थियो।
यस घटनामा उनलाई जिल्ला अदालत सिन्धुलीले असोज १७ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो।
कर्मचारीको कारागारभित्र मृत्यु भएकाले भतिजीलाई पढाउने सहमती जनाएको विद्यालयका संस्थापक कृष्णराज ठकुरीले जानकारी दिए।
‘मृतक अविवाहित हुन्। परिवारको आर्थिक अवस्था पनि कमजोर छ। त्यसैले हामीले उहाँकी भतिजीलाई पढाइदिन्छौं भन्यौं। सानै छिन्। अब उहाँहरूले विद्यालयमा ल्याएपछि हामी कक्षा १० सम्म पढाउँछौं,’ उनले सेतोपाटीसँग भने।
यस्तै मृतकको काजकिरिया गर्न लागि पनि खर्च उपलब्ध गराउने सहमति गरेको उनले बताए।
मृतक थापाको पोष्टमर्टम सकिसकेको छ। परिवारले शव पनि बुझिसकेका छन्।
पोष्टमर्टम सकेपनि त्यसको रिपोर्ट नआएको प्रहरीले जनाएको छ। थापाको हृदयघातबाट मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।