धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतोले आगामी शैक्षिक सत्रबाट सामुदायिक विद्यालयले विद्यार्थीबाट उठाउँदै आएको शुल्क नलिने घोषणा गरेका छन्।
कानुन विपरित शिवशक्ति नमुना माध्यमिक विद्यालयले विद्यार्थीहरूबाट बिल समेत नदिइ उठाउँदै आएको रकम नलिने र अंग्रेजी माध्यममा पठनपाठनको बहानामा शुल्क लिने तयारी गरिरहेको अर्को विद्यालयलाई समेत शुल्क लिन नदिने उनले बताएका छन्।
प्रावधिक तर्फ शिवशक्ति माविले कक्षा ९ मा वार्षिक ४ हजार ५ सय, कक्षा १० मा ८ हजार, कक्षा ११ मा ९ हजार ३ सय र कक्षा १२ मा १० हजार रुपैयाँ प्रति विद्यार्थी वार्षिक रुपमा उठाउँदै आएको छ।
शुक्रबार बटेश्वर युवा संजालले आयोजना गरेको ‘बटेश्वर मंथन’ कार्यक्रममा उनले पालिकाभरका विद्यालयमा शिक्षक भर्नाका साथै भौतिक संरचना निर्माण कार्यलाई तिब्रता दिएको बताए।
‘हामीले दरबन्दी अनुसार शिक्षक पूर्ति गरिरहेका छौं। विगतमा विद्यालय भताभुंग अवस्थामा थियो। अझैपनि स्कुलहरूले पालिकालाई हिसाब दिन मानेको छैन। गैरकानुनी तरिकाबाट विगतमा शिक्षक भर्ना हुँदा पनि समस्या भएको हो,’ उनले भने, ‘सोचे जतिको काम गर्न सकेका छैनौं तर स्वास्थ्य चौकीमा नागरिकले निःशुल्क पाउनुपर्ने औषधि सकेसम्म उपलब्ध गराइदिएका छौं। सिँचाई र कृषि विद्युतीकरणको काम पनि गरिरहेका छौं।’
सामान्य प्रशासन मन्त्रालयले पालिकासँग समन्वय नै नगरी अचानक प्रशासकीय अधिकृतको सरुवा गर्दा काम गर्न समस्या भइरहेको अध्यक्ष महतोले बताए।
कर्मचारीको असहयोगले भुक्तानी समस्या समेत निम्तिएको उनको भनाई थियो। बटेश्वर गाउँपालिकामा उपभोक्ता समिति मार्फत गत आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरूको झण्डै डेढ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ।
संजालले अयोजना गरेको मन्थनमा गाउँपालिकाका पाँचवटै वडाका वडाध्यक्षहरूले सहभागीहरूले गरेको प्रश्नहरूको जवाफ दिएका थिए। दिपावली र छठको अवसरमा संजालले स्वास्थय शिविर र रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो।
निःशुल्क स्वास्थ्य शिविरमा ९५ जनाले स्वास्थ्य लाभ लिएको र १०५ जनाले रक्तसमूह परीक्षण गराएको संजालका संयोजक सरोजकुमार महतोले बताए। उनका अनुसार ४२ जनाले रक्तदान समेत गरेका थिए।
यो पनि: सामुदायिक विद्यालय- सरकार भन्छ निःशुल्क शिक्षा, विद्यालय उठाउँछन् शुल्क