दाङमा एक पुरूषलाई चक्कु प्रहार गरेको आरोपमा तीन युवक पक्राउ परेका छन्।
कात्तिक ३० गते राति पौने १० बजेतिर घोराही उपमहानगरपालिका-१५ गोरखा हस्पिटल नजिकै हिँडिरहेका सोही वडाका २१ वर्षीय कृतिक रोका मगरमाथि चक्कु प्रहार भएको थियो।
पछाडिबाट ढाडमा गरिएको चक्कु प्रहारबाट गम्भीर घाइते रोकालाई उद्धार गरी घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो।
घाइते रोकालाई कोहलपुर मेडिकल कलेजले काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा थप उपचारका लागि रिफर गरेको छ। हाल उनको त्यहीँ उपचार जारी छ।
रोकामाथि चक्कु प्रहार गरेको आरोपमा घोराही-९ का २४ वर्षीय शैलेश शाह, घोराही-१८ का मिस्चल बुढा मगर र घोराही-१५ का २५ वर्षीय निश्चल श्रेष्ठलाई शुक्रबार दिउँसो नियन्त्रणमा लिएको जिल्ला सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा मगरले बताए।
उनीहरू तीनै जनालाई घोराही-९ तेघरामा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।