टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरूद्ध परेका रिटहरूको पेशी तोकिए पनि आज सुनुवाइ हुने संभावना भने कम देखिएको छ।
टिकटक विरूद्ध परेका १० रिट न्यायाधीश कुमार चुडालको इजलासमा परेका छन्।
सर्वोच्चको पेशी सूची अनुसार आज न्यायाधीश कुमार चुडाललाई छुट्टा छुट्टै दुईवटा इजलास परेका छन्।
एउटा एकल इजलास र अर्को संयुक्त इजलासमा बसेर उनले मुद्दा हेर्नुपर्ने छ। तर सर्वोच्चको वेवसाइटमा उल्लेखित जानकारी अनुसार संयुक्त इजलासले सुनुवाई थालेको छ। न्यायाधीश कुमार चुडाल उक्त इजलासमा रहेका मुद्दा हेरेर सकिएपछि मात्र एकल इजलास बस्न सक्नेछन्।
टिकटक प्रतिबन्ध विरूद्धका रिटहरू एकल इजलासको पनि क्रमसंख्यामा छैँटौ नम्बरमा परेका छन्। इजलासहरूले क्रमैसँग पहिलो नम्बरदेखि मुद्दा हेर्ने गर्छन्। त्यसैले यो रिटमा आज सुनुवाई हुने संभावना कम देखिन्छ।
गत कात्तिक २७ गते मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
सरकारको यो निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो।
सामाजिक सदभाव बिग्रिन थालेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको थियो।
सरकारको यो निर्णय बदरको माग गर्दै अधिवक्ता दिनेश त्रिपाठी, त्रिलोकबहादुर चन्द, प्रेमराज सिलवाल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल 'स्वागत', अञ्जन धिताल, रामकृष्ण बञ्जारा, यज्ञमणि न्यौपाने, फर्सुराम पाण्डे लगायतले सर्वोच्चमा रिट दिएका थिए।
यो पनि: टिकटक माथिको प्रतिबन्ध