नेपालमा मुटुका लगभग सबै खालका अपरेसन सम्भव छ। जन्मजात हुने केही जटिल समस्याको उपचार हुँदैन। त्योबाहेक ९९ प्रतिशत अपरेसन नेपालमा सम्भव छ।
काठमाडौंमा मात्रै होइन नेपालमा हुने सबै खालका अपरेसन काठमाडौंबाहिर पनि हुन्छ। चितवन,धरान, विराटनगर लगायतका ठाँउहरूमा मुटुको अपरेसन हुन्छ। त्रिवि शिक्षण अस्पताल र गंगालाल हृदय केन्द्रमा सरकारले सहुलियत दिन्छ तर काठमाडौंबाहिर यो सुविधा नहुँदा बिरामीहरू काठमाडौं जान बाध्य छन्।
चितवनमा मुटुको मात्रै होइन रक्तनली अनि फोक्सोको नलीको समेत अपरेसन हुन्छ। दुई वर्ष अघि चितवनमा अपरेसन गर्दा सामान ल्याउन अप्ठ्यारो थियो तर अहिले त्यो अवस्था हटेको छ।अर्को ब्लड बैंकको अप्ठ्यारो छ।
चितवनमा ब्लड बैंक छ तर चाहिने मात्रामा ब्लड उपलब्ध हुँदैन। काठमाडौंमा भन्दा चितवनमा रक्तदान गर्ने कल्चर अलि कम छ। सर्वसाधारणलाई काठमाडौंभन्दा पायक पर्ने त चितवन हो। तर सरकारले त्यो अनुसारको ध्यान दिन सकेको छैन।
मुटुको उपचारको लागि केही महँगा प्रविधि अझै आएको छैन। मुटुको प्रत्यारोपण अझै सुरू भएको छैन। यस बाहेकका उपचारका लागि आवश्यक प्रविधि हामीसँग छ।
मुटुको अपरेसन गर्न सक्ने सर्जन जम्मा ३० जना छन्। समग्रमा लगभग वार्षिक ३ हजार मुटुको अपरेसन हुन्छ। तर नेपालीको लागि ८ देखि १० हजार मुटुको अपरेसन जरूरी पर्छ। त्यसको लागि कम्तीमा सय जना सर्जन चाहिन्छ। उपलब्ध भएको मुटु अपरेसन पनि काठमाडौं केन्द्रित छ। किनकि नि:शुल्क अपरेसन गर्नको लागि देशभरिबाट काठमाडौं जानुपर्ने बाध्यता छ।
मुटुको सर्जरी गर्ने पढाइमा पनि आकर्षक छैन। मुटुको अपरेसन गर्ने पढाइ भनेको जनरल सर्जरीपछि एमसिएच हो। त्यो नेपालमा टिचिङमा दुई र न्याम्समा दुई कोटा छ। न्याम्सको कोटा खाली भएको थुप्रै वर्ष भइसक्यो। टिचिङको कोटा तीन वर्षदेखि खाली छ। त्यसैले अहिले मुटुको अपरेसन गर्ने पुस्ता सकिएपछि मुटुका अपरेसन गर्न डाक्टर नै नेपालमा नहुने हुन् कि भन्ने डर छ।
(मुटु, फोक्सो र रक्तनली सर्जन डा.अनिल आचार्य चितवन मेडिकल कलेज भरतपुरमा कार्यरत छन्।)