बुटवलमा फोहोर प्रशोधन केन्द्र स्थापना गरी फोहोरबाट मोहर बनाउन थालिएको छ।
बुटवल उपमहानगरपालिकाले युएनडिपी र कोकाकोला फाउन्डेसन सँगको साझेदारी तथा शिव नगर सामुदायिक वन उपभोक्ता समिति र बुटवल सरसफाइ तथा वातावरण संरक्षण सहकारी संस्था लिमिटेडको सहकार्यमा वडा नं. ७ र ८ को फोहोर व्यवस्थापन गर्दै आएको थियो।
फोहोर व्यवस्थापनको लागि २०७७ सालमा गठन गरिएको बुटवल सरसफाइ तथा वातावरण संरक्षण सहकारी संस्था लिमिटेड मार्फत गत वर्षदेखि दुई वटा वडाको फोहोर संकलन गरी प्रशोधन भइरहेको थियो।
सहकारी संस्थामार्फत् फोहोर व्यवस्थापनको काम भइरहेको प्रशोधन केन्द्रमा बुटवल उपमहानगरपालिकाले ट्रस निर्माण गरिदिएको छ भने युएनडिपी र कोकाकोला फाउन्डेसनले फोहोर छुट्टाउने र प्लास्टिकजन्य फोहोरबाट इँटा उत्पादन गर्ने मेसिन उपलब्ध गराएको छ।
यसअघि बुटवलमा सञ्चालन हुने भनिएको फोहोर प्रशोधन केन्द्रको योजना असफल बनेपछि एसियाली विकास बैंक उक्त योजनाबाट फिर्ता भएको थियो। त्यसपछि पनि विभिन्न तवरबाट अगाडि बढाउने भनिएको फोहोर व्यवस्थापनको काम चुनौतीपूर्ण बनिरहेको अवस्थामा युएनडिपी, बुटवल उपमहानगरपालिका र सहकारी संस्थाले संयुक्त रूपमा फोहोर व्यवस्थापनको काम अगाडि बढाएका हुन्।
यो आयोजनामार्फत वडा नं. ७ र ८ बाट संकलित फोहोरमध्ये कुहिने फोहोरबाट कम्पोस्ट मल र नकुहिने प्लास्टिकजन्य फोहोरबाट ब्लक निर्माण गर्ने नौलो पहल सुरू गरिएको छ।
सहकारी संस्थाले संकलन गरेका प्लास्टिक, बोतल, बोरा, आल्मोनियम, फलाम, रबर लगायतका फोहोरलाई प्रशोधन केन्द्रबाटै रिसाइक्लिन उद्योगहरूमा बिक्री गर्दै आएको छ।
रिसाइक्लिन उद्योगमा समेत प्रयोगमा नआउने सुर्ती, गुट्खा, चाउचाउ, लगायतका प्लास्टिकबाट प्रशोधन केन्द्र आफैले ब्लक इँटा बनाउन थालेको हो।
बुटवल उपमहानगरपालिकाले निर्माण गरिदिएको ट्रस तथा युएनडिपी र कोकाकोला फाउन्डेसनले उपलब्ध गराएको फोहोर छुट्टाउने र इँटा उत्पादन गर्ने मेसिनको उद्घाटन गर्दै फोहोर प्रशोधन केन्द्रलाई हस्तान्तरण गरिएको छ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले समुदायमा आधारित फोहोर व्यवस्थापन कार्यलाई दिगो र प्रभावकारी बनाउन युएनडिपी र कोकाकोला फाउन्डेसनले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिए।
उनले फोहोर प्रशोधन केन्द्रका लागि शिव नगर सामुदायिक वनभित्र १० बिगाहा क्षेत्र प्राप्तिको प्रक्रिया अगाडि बढेको उल्लेख गर्दै जग्गा प्राप्ति भए युएनडिपीको सहयोगमा प्रशोधन केन्द्रसँगै पार्क निर्माण गर्ने योजना रहेको बताए।
‘फोहोर भन्ने बित्तिकै नाक खुम्च्याउने अवस्था छ तर, जग्गा प्राप्ति भए हामीले प्रशोधन केन्द्रलाई पार्कको रूपमा अगाडि बढाउन चाहन्छौँ। जहाँ फोहोरबाट कसरी मोहोर कमाउन सकिन्छ भनेर मानिसहरू हेर्नकै लागि प्रशोधन केन्द्रमा आऊन्,’ नगर प्रमुख पाण्डेले भने।
उनले दैनिक घर-घरबाट संकलन हुनेमध्ये ९० प्रतिशत फोहोर पुनः प्रयोग र रिसाइक्लिन गर्न सकिने भएकोले प्रशोधन केन्द्र सञ्चालनमा आउँदा पुन: प्रयोग र रिसाइक्लिन गर्न नमिल्ने र नकुहिने फोहोर मात्र व्यवस्थापन गर्नुपर्ने बताए।
उपमहानगरपालिकाका उपप्रमुख सावित्रीदेवी अर्यालले बुटवलमा दैनिक ७७ टन हाराहारी फोहोर उत्सर्जन हुने उल्लेख गर्दै त्यसमध्ये करिब १५ प्रतिशत प्लास्टिकजन्य फोहोर हुने गरेको बताइन्।
‘संकलन हुने धेरैजसो फोहोर कुहिने खालको नै हुन्छ त्यसबाट कम्पोस्ट र गँड्यौला मल बनाउन सकिन्छ, करिब १५ प्रतिशत प्लास्टिकजन्य फोहोर सबै रिसाइक्लिन गर्न सकिन्छ तर घर-घरबाटै अलग अलग छुट्टाउन नसक्दा फोहोर व्यवस्थापन सबभन्दा चुनौतीको रूपमा देखिएको छ,’ अर्यालले भनिन्।
युएनडिपीका रेजिडेन्ट रिप्रिजेन्टेटिभ जुलियन शेभिलियार्डले बुटवलमा युएनडिपीको सहकार्य धेरै पहिलेदेखि नै रहँदै आएको र फोहोर प्रशोधन केन्द्रमार्फत निरन्तर रहने बताए।
‘वातावरण संरक्षणका लागि आवश्यक सहयोग गर्न युएनडिपी सधैँ तयार रहेको छ, त्रिपक्षीय सहकार्यबाट अगाडि बढेको वातावरण संरक्षणको अभियान दिगो समेत हुनेछ,’ उनले भने।
उनले दुई वटा वडाबाट सञ्चालन गरिएको प्रशोधन केन्द्रलाई अन्य वडाहरूमा समेत विस्तार गर्न आग्रह गरे।
कोकाकोला फाउन्डेसनका सिनियर डाइरेक्टर जेफ्री ग्यारी ड्यान्बीले दुई वटा वडाबाट सुरू गरिएको फोहोर प्रशोधन केन्द्रको पहल सबै वडामा विस्तार हुने र त्यसैबाट बुटवललाई सफा र स्वच्छ बनाउने अभियान सफल हुने बताए।
‘बुटवलले दिगो विकास लक्ष्यमा टेवा पुर्याउने गरी विभिन्न काम गर्दै आएको छ, युएनडिपीले पनि दिगो विकास लक्ष्यलाई टेवा पुर्याउने काममा साझेदारी गर्दै आएको छ,’ उनले भने।
बुटवल उपमहानगरपालिकाका महाशाखा प्रमुख तुलसा अर्यालका अनुसार फोहोर व्यवस्थापनबाट बुटवललाई स्वच्छ, सफा र आकर्षक बनाउनुका साथै रोजगारीका अवसर समेत सृजना गर्ने लक्ष्य छ। प्रशोधन केन्द्रमा हाल ३६ जनाले रोजगारी पाएका छन्।
बुटवलका सबै १९ वटै वडामा फोहोर प्रशोधनको कार्यक्रम विस्तार हुँदा झन्डै ४ सय जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ।
अहिले वडा नम्बर ७ र ८ मा दैनिक उत्पादन हुने १५ टन फोहोर यही प्रशोधन केन्द्रमार्फत् व्यवस्थापन हुने गरेको छ।
-1774430003.jpg)
-1774430001.jpg)
-1774430002.jpg)
-1774430002.jpg)
-1774430001.jpg)
-1774430001.jpg)
-1774430000.jpg)
-1774430001.jpg)
-1774430002.jpg)
-1774429999.jpg)
-1774430000.jpg)
-1774430000.jpg)