मलेसियामा एक नेपालीको हत्या भएको छ।
सल्यानका कपुरकोट गाउँपालिका-३ दमारखोलाका २९ वर्षीय बेदबहादुर बुढाको हत्या भएको हो।
कपुरकोट गाउँपालिका–३ का वडाध्यक्ष प्रदीप खड्काका अनुसार रोल्पाको गंगादेव गाउँपालिका–३ नाउली भालुमारेका २५ वर्षीय चोपीलाल डाँगीले बेदबहादुरको हत्या गरेको जानकारी प्राप्त भएको बताए।
बेदबहादुरका काका पर्शुराम बुढाले वडाध्यक्ष खड्कालाई टेलिफोन मार्फत आफ्नो भतिजाको हत्याबारे जानकारी गराएका थिए।
‘बेदबहादुरका काका परशुराम पनि मलेसियामै हुनुहुन्छ र उहाँले मलाई फोन गरी भतिजाको हत्याबारे जानकारी गराउनु भएको हो,’ वडाध्यक्ष खड्काले भने ।
गत आइतबार राति साढे ९ देखि १० बजेको बीचमा चोपीलालले चक्कु प्रहार गरी बेदबहादुर हत्या गरेको भन्ने सूचना प्राप्त भएको वडाध्यक्ष खड्काले जानकारी दिए।
बेदबहादुर रोजगारीको खोजीमा दुई वर्ष पहिले मलेसिया गएका थिए।
हत्या आरोपी चोपीलाल डाँगी र बुढा एउटै घरमा फरक – फरक फल्याटमा बस्दै आएका थिए। मलेसियामा रहेका आफन्तले दिएको जानकारी अनुसार एक वर्ष पहिले बुढा र डाँगीका बीचमा आपसमा विवाद भएको थियो।
भेट हुँदा सोही विषयलाई लिएर उनीहरुका बीचमा घोचपेच भइ रहन्थ्यो । घटना भएको दिन पनि उनीहरुका बीचमा आपसमा विवाद भएको थियो।
‘चोपीलाल त्यस दिन मदिरामा धूत थिए भन्ने बुझिएको छ,’ वडाध्यक्ष खड्काले पर्शुरामको भनाइ उद्धृत गर्दै भने ‘त्यो बीचमा एकै घरमा बस्ने बेदवहादुर सहितका अन्य केही नेपालीहरुले उनलाई जिस्काएका थिए । राति करिब साढे ९ बजेतिर बुढा पिसाव गर्न डाँगी बस्ने तल्लो फ्ल्याटमा झरेको बेलामा पछाडिबाट ढाडमा चक्कु प्रहार गर्दा मृत्यु भएको भन्ने छ ।’
चोपीलालले बेदबहादुरको हत्या गरेपछि नेपालस्थित आफ्नो घरपरिवारसँग कुराकानी पनि गरेका थिए।
परिवारसँगको कुराकानीमा आफूले एक जनाको हत्या गरेको र जेल जानुपर्ने अवस्था आउन सक्ने भनेर जानकारी गराएका थिए। चोपीलालसँगै बसेका साथीहरूले भने उनले मजाक गरेको सोचेका थिए।
केही बेरपछिसंगै बस्ने अन्य नेपाली शौचालय जाने क्रममा बेदबहादुरलाई गम्भीर घाइते अवस्थामा फेला पारेका थिए। घटना भएको आधा घन्टापछि अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषित गरिदिएको थियो।
चोपीलाल भने घरबाहिर लुकेको अवस्थामा फेला परेका थिए। उनविरूद्ध त्यहाँको प्रहरीले अनुसन्धान अघि बढाएको खबर प्राप्त भएको वडाध्यक्ष खड्काले जानकारी दिए।
‘यो घटना अनुसन्धानका लागि सँगै बस्ने अरू ८ जना नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको भन्ने छ,’ वडाध्यक्ष खड्काले भने, ‘शव पोस्टमर्टमका लागि अस्पतालमा राखिएको छ। त्यो प्रक्रिया पूरा भएपछि मात्रै शव नेपाल ल्याउने प्रक्रिया सुरू हुन्छ।'
वडाध्यक्ष खड्काका अुनसार हत्या गरिएका बुढाको घर परिवार पछिल्लो समय दाङको शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा बस्दै आएका छन्।