बर्दियाका २० वर्षीय वरुण घिमिरेको हत्यामा संलग्न आरोपितमध्ये थप एक जना पक्राउ परेका छन्।
आरोपितमध्ये गुलरिया नगरपालिका–६ का सुरेश भनिने १९ वर्षीय सुयस थापा आइतबार पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी तुलसीराम अर्यालले जानकारी दिए।
वरुणको हत्यामा संलग्नमध्ये यसअघि नै पाँच जना पक्राउ परिसकेका थिए। यसअघि गुलरिया–६ गुलरिया बजारका २३ वर्षीय सुलभ थापा, गुलरिया–५ बंगलामुखी टोलका १९ वर्षीय दिपेश बुढा मगर, गुलरिया–६ ज्योतिनगरका २४ वर्षीय धिरज ठाकुर, गुलरिया– ८ कोठियाका १९ वर्षीय सन्दिप थारु, गुलरिया– ८ गंगानगर टोलका १९ वर्षीय दिनानाथ चौधरी पक्राउ परिसकेका थिए।
घिमिरेको हत्यामा संलग्न भनिएका आरोपितमध्ये अब गुलरिया–५ बंगलामुखी टोलका २० वर्षीय आलोक आश्रित र गुलरिया–४ गणेश चोकका १९ वर्षीय सुरेश सुनार फरार छन्।
प्रहरीका अनुसार घिमिरेको हत्यामा सहयोगी भूमिका खेल्ने थप तीन जना छन्। उनीहरू पनि यसअघि नै पक्राउ परिसकेका छन्। जसमा गुलरिया–६ कृष्णसार टोलका १८ वर्षीय रक्षक भनिने रोशन शाह, गुलरिया–४ गणेश चोकका १८ वर्षीय निश्चल थापा क्षत्री र ठाकुरबाबा नगरपालिका–३ विदुरपुरका २३ वर्षीय तर्क भण्डारी छन्।
कात्तिक २७ गते मध्यराति गुलरिया नगरपालिका–५ का २० वर्षीय वरुण घिमिरेलाई एक समूहले धारिलो हतियार प्रहार हत्या गरेको थियो।
खुकुरी, चक्कुलगायत धारिलो हतियार प्रयोगबाट गम्भीर घाइते घिमिरेको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले यसअघि नै बताएको थियो। पुरानो रिसिइबीका कारण घिमिरेमाथि एक समूहले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी अधिकारीले बताउने गरेका छन्।
त्यो समूहको आक्रमणमा परी जिल्लाको गेरूवा गाउँपालिका–६ मनाउका २१ वर्षीय मोहित पुन र गुलरिया नगरपालिका–६ गुलरिया बजारका २० वर्षीय रञ्जन कुँवर घाइते भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए।
घिमिरे हत्याकाण्डमा संलग्नमध्ये हालसम्म नौ जना पक्राउ परिसकेको र अब दुई जनामात्रै पक्राउ पर्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।