दाङको तुलसीपुरमा एक घरभित्र मृत फेला परेका दाजुभाइको शव निकालेर अस्पताल लगिएको छ।
मंगलबार बिहान नौ बजेतिर दुई दाजुभाइको शव निकालेर पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ डोक्रेनाका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका ३० वर्षीय भाइ टेकबहादुर बस्नेत सोमबार बेलुकी भाडामा बस्दै आएको घरभित्र मृत अवस्थामा फेला परेका थिए।
पूर्ण परिवारका साइँला र टेकबहादुर कान्छा हुन्। उनीहरू मृत अवस्थामा फेला परेको कोठा भने कान्छा टेकबहादुरको हो।
साइँला पूर्णबहादुर दसैं मनाउन भनेर भारतबाट आएका थिए। कान्छा टेकबहादुर पनि भदौमा मात्रै विदेशबाट घर फर्किएका थिए।
घरबाट छुट्टै बस्ने हुँदा कान्छा टेकबहादुरको परिवार र छोरा तुलसीपुरको गाइडहरमा विगत एक वर्षदेखि कोठा भाडामा बस्दै आएको खुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए।
टेकबहादुरकी श्रीमती तिहार मान्न भनेर रोल्पास्थित माइतीमा गएको र उनले आफू नआउँदासम्म ढोका नखोल्नु तथा शव नउठाउनु भन्ने आग्रह गरेको हुँदा उनी आएपछि मात्रै मंगलबार बिहान ढोका खोलेर दुई दाजुभाइका शवहरू निकालेर अस्पताल लगिएको प्रहरी निरीक्षक मल्लले बताए।
उनीहरूको कोठामा किटनाशक विषादीको खोल फेला परेको तथा गिलासमा पनि विषादीको घोलजस्तो गन्ध आएको पाइएको मल्लले जानकारी दिए।
साइँला पूर्ण भने परिवारसहित रोजगारीको सिलसिलामा भारतमा बस्दै आएको भन्ने अनुसन्धानबाट खुलेको प्रहरी जनाएको छ। तर, यो बीचमा पूर्णकी श्रीमती एक्लै भारत गइसकेको खुलेको पनि प्रहरीले जानकारी दिएको छ।
‘कान्छा टेकबहादुरले मेरो छोरा अपाङ्ग छ भनेर चिन्ता गर्ने गरेको भन्ने आफन्तले जानकारी दिएका छन्,’ प्रवक्ता मल्लले भने, ‘साइँला पूर्णको परिवारमा केही बेमेल थियो भन्ने खाले कुराहरू केही आफन्तले गरेको भए पनि अनुसन्धान हुन बाँकी छ।’
बस्नेत परिवारका चार दाजुभाइमध्ये माइला हाल विदेशमा छन्। जेठाले पनि केही वर्ष विषादी सेवन गरी आत्महत्या गरेको भन्ने खुलेको प्रहरीले बताएको छ।
घटनाबारे अनुसन्धान जारी रहेको तथा पोष्टमर्टम रिपोर्टपछि मात्रै यकिनका साथ उनीहरूको मृत्युको कारण भन्न मिल्ने प्रहरीले बताएको छ।
यो पनि:
बन्द कोठाभित्र दाजुभाइ मृत फेला