प्रहरीकै जग्गा किर्तेगरी आफ्नो नाममा दर्ता गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन्।
काभ्रेपलान्चोक पनौति नगरपालिका वडा नं.६ सुनथान घर भई बनेपा नगरपालिका वडा नं. ७ बस्ने ६७ वर्षीय पुष्करबहादुर बस्नेत पक्राउ परेका हुन्।
उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बनेपा नगरपालिका वडा नं. ७ बाट मंगलबार पक्राउ गरेको हो।
नेपाल सरकारले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जलाई हकभोग गर्न दिएको काभ्रे साविक सुनथान गाउँ विकास समिति-८ किता नम्बर ७५ क्षेत्रफल ३६-०-२-० जग्गा दिएको थियो।
उक्त जग्गा व्यक्तिको नाममा दर्ता गर्न फिल्डबुक लगायत सरकारी कागजात किर्ते गरेको अनुसन्धानमा खुलेकाले उनलाई पक्राउ गरिएको ब्युरोको प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
पुष्करलाई काभ्रे जिल्ला अदालत धुलिखेलबाट लिखत सम्बन्धी कसूरको मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता अधिकारीले बताए।