अनलाइन ठगी गर्ने ९ जनालाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ।
बुधबार साँझ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट खटेको संयुक्त टोलीले अनलाइन ठगी गर्ने गिरोहलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा डोटी शिखर नगरपालिका –१० का २१ वर्षीय प्रशान्त बलायर, कञ्चनपुर पुनर्वास नगरपालिका –६ का २९ वर्षीय मिनबहादुर सुनार, कञ्चनपुरकै बेलडाडी गाउँपालिका–२ का ३० वर्षीय विशाल सुनार र २८ वर्षीय कमल सुनार छन्।
यस्तै दिल्ली बस्ने भारतीय नागरिक ३२ वर्षीय अमित कुमार, २२ वर्षीय जयराम सुनार, २६ वर्षीय कुनाल शर्मा, २४ वर्षीय मिथिल कुमार र १९ वर्षीय प्रियंसु ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूको साथबाट ल्यापटप ११ थान, विभिन्न कम्पनीका मोबाइल ८ थान, राउटर १ थान, हेडफोन १२ थान र एउटा किबोर्ड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए।
पक्राउ परेकामध्ये विशाल सुनारको नामबाट धनगढीमा अवैध रूपमा आइटी सेन्टर सञ्चालन गरिएको थियो। धनगढी उपमहानगरपालिका– ५ तारानगरमा घर भाडा लिएर उनीहरूले विभिन्न ठाउँका नागरिकलाई प्रलोभनमा पारी अनलाइन ठगी गरेको खुलेको हो। उनीहरूले विदेशी नागरिकलाई समेत ठगी गरेको प्रहरीले जनाएको छ।