बर्दियाका २० वर्षीय वरुण घिमिरेको हत्या गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन्।
दुई जना पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या ११ पुगेको छ। जिल्ला प्रहरी कार्यालयका एसपी सुधिरराज शाहीका अनुसार वरुणको हत्यामा ११ जना संलग्न थिए।
उनीहरू सबै जनालाई पक्राउ गरिसकेको एसपी शाहीले बताए।
बिहीबार पक्राउ पर्नेमा गुलरिया–५ बंगलामुखी टोलका २० वर्षीय आलोक आश्रित र गुलरिया–४ गणेश चोकका १९ वर्षीय सुरेश सुनार छन्।
स्रोतका अनुसार घटना पछि भागेर भारत पुगेका उनीहरूलाई प्रहरीले भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याएको थियो। आरोपितमध्ये गुलरिया नगरपालिका–६ का सुरेश भनिने १९ वर्षीय सुयस थापा आइतबार पक्राउ परेका थिए।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी तुलसीराम अर्यालले वरुणको हत्यामा संलग्नमध्ये पाँच जना यसअघि नै पक्राउ परिसकेका बताए। यसअघि गुलरिया–६ गुलरिया बजारका २३ वर्षीय सुलभ थापा, गुलरिया–५ बंगलामुखी टोलका १९ वर्षीय दिपेश बुढा मगर, गुलरिया–६ ज्योतिनगरका २४ वर्षीय धिरज ठाकुर, गुलरिया– ८ कोठियाका १९ वर्षीय सन्दिप थारु, गुलरिया– ८ गंगानगर टोलका १९ वर्षीय दिनानाथ चौधरी पक्राउ परिसकेका थिए।
प्रहरीका अनुसार घिमिरेको हत्यामा सहयोगी भूमिका खेल्ने गुलरिया–६ कृष्णसार टोलका १८ वर्षीय रक्षक भनिने रोशन शाह, गुलरिया–४ गणेश चोकका १८ वर्षीय निश्चल थापा क्षत्री र ठाकुरबाबा नगरपालिका–३ विदुरपुरका २३ वर्षीय तर्क भण्डारीपनि यसअघि नै पक्राउ परिसकेका छन्।
कात्तिक २७ गते मध्यराति गुलरिया नगरपालिका–५ का २० वर्षीय वरुण घिमिरेलाई उनीहरूको समूहले धारिलो हतियार प्रहार हत्या गरेको थियो।
खुकुरी, चक्कुलगायत धारिलो हतियार प्रयोगबाट गम्भीर घाइते घिमिरेको बाँके तर्फ अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। पुरानो रिसिइबीका कारण घिमिरेमाथि उक्त समूहले मध्यरातमा आक्रमण गरी हत्या गरेको कुरा अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीहरूले बताएका छन्।
त्यो समूहको आक्रमणमा परी जिल्लाको गेरूवा गाउँपालिका–६ मनाउका २१ वर्षीय मोहित पुन र गुलरिया नगरपालिका–६ गुलरिया बजारका २० वर्षीय रञ्जन कुँवर घाइते भएको प्रहरीले जानकारी दिएको थियो।