जनकपुरधामस्थित जनकपुर न्युरो हस्पिटलमा बालकको मृत्यु भएको घटनामा पीडित परिवारलाई रकम दिएर मिलाएको पाइएको छ।
गए राति २ बजे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुषन सिंह समेतको रोहबरमा भएको वार्तामा कानुनी कारबाहीमा नजाने शर्तमा पीडित परिवारलाई १० लाख राहत दिने सहमति भएको हो।
हस्पिटलले डिस्चार्ज गरेलगतै धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ मालटोल बस्ने साढे चार वर्षीय जेम्स कालिकोटेको मृत्यु भएको थियो। जेम्सको बिहीबार बिहान ११ बजे मृत्यु भएको हो।
पेट दुख्ने र वान्ता आउने समस्या देखिएपछि उपचारका लागि बुधबार बिहान उनलाई डा. शशीभुषन ठाकुरको क्लिनिकमा लगिएको थियो। त्यहाँबाट डाक्टरले उनलाई न्युरो हस्पिटल पठाएका थिए।
बिरामीको स्वास्थ्य अवस्था समान्य भएको भन्दै बिहीबार बिहान हस्पिटलले डिस्चार्ज गरेको थियो।
‘रातभर केही भएन, बिहान पनि रिपोर्टमा सबै नर्मल देखियो। बिरामीको आमाले हामी काठमाडौँमै बस्दै आएका छौं। अब केही परे उतै देखाउला भनेर आग्रह गरेपछि डाक्टरले डिस्चार्ज गरेको हो। मृत्युको कारण त पोष्टमर्टम पछि थाहा हुन्थ्यो। मुटु बन्द भएर उनको मृत्यु भएको अनुमान छ,’ अस्पतालका व्यवस्थापक सञ्जय मण्डलले भने।
चिकित्सकले डिस्चार्जको बेला बालकको वास्तविक स्वास्थ्य अवस्था नबताएको आरोप परिवारको छ। पीडित परिवारले बालको शव उठाउन मानेका थिएनन्। उपचारमा संलग्न चिकित्सकलाई कारबाही र ५० लाख रुपैयाँ राहत माग गर्दै पीडित परिवारले टायर बालेर आन्दोलनमा उत्रिएका थिए।
अस्पतालमा तोडफोड गरेको भन्दै आन्दोलनमा उत्रिएका पीडित परिवारका ६ जनालाई बिहीवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो।
हस्पिटलसँग वार्ता गर्ने बताएपछि बेलुकी ९ बजे आफूहरुलाई छोडेको जेम्सका मामा समीर रसाइलीले बताए।
‘हामीले आन्दोलन गर्दा प्रहरीले उल्टै पक्रेर थुनदियो। जबकी तोडफोड गर्ने बाहिरका अरु केटाहरु थिए,’ उनले भने। अस्पताल र राजनीतिक दलका नेताहरुले मिल्न दबाब दिएपछि आफूहरु वार्ता गरेर मिलेको जेम्सका ठूलोबुवा टीकाराम कालिकोटेले बताए।
‘अरु पनि बच्चाको उपचारमा यस्तै लापरबाही नगरोस् भनेर हामीले कानुनी कारबाही र राहतको माग गर्यौ तर अस्पताल र नेताहरुले धेरै पेलेर नजाऔं। कसैको व्यवसाय नै बन्द गराउनुभएन भन्न थाले। हामी एक्लियौँ अनि मिल्न बाध्य भयौँ,’ उनले भने, ‘अस्पतालले गल्ती भएको स्वीकार्दै १० लाखको एभरेष्ट बैँकको चेक दिएको छ। मंसिर २७ गते साट्न भनेको छ।’
अस्पतालले चेक दिएपछि राति नै जेम्सको शव परिवारजनले बुझेका थिए। पोष्टमार्टमसमेत नगरी परिवारले उनको अन्तिम संस्कार गरेको छ। यस घटनाबारे अस्पतालले बोल्न मानेको छैन। अस्पतालका व्यवस्थापक सञ्जय मण्डलले बोल्न नमानेपछि हामीले वार्ता गरेका अस्पतालका सञ्चालक विजय राउतलाई सम्पर्क गर्यौ। उनको मोबाइल स्वीच अफ छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले मिलापत्रमा प्रहरीले भूमिका नखेलेको दाबी गरे।
‘शान्ति सुरक्षाका लागि त्यहाँ प्रहरी तैनाथ गरिएको थियो। मिलापत्र र आर्थिक लेनदेनको काम प्रहरीले गर्दैन। कानुनी प्रक्रियामा लाने काम पुलिसको हो। कानुनी प्रक्रियामा जाँदैन दुबै जनाले आफैँमा सहमति गर्छ भने पुलिसको त्यसमा खासै भुमिका हुँदैन्,’ उनले भने।
०७८ फागुन दोस्रो सातादेखि सञ्चालनमा आएको जनकपुर न्युरो अस्पताल विशिष्टिकृत अस्पताल हो। तर अहिलेसम्म स्वास्थ्य सेवा विभागबाट अनुमति नै नलिई यो अस्पताल सञ्चालनमा छ। जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि कम्पनी रजिष्टारको कार्यालयमा दर्ता छ र आन्तरिक राजश्व कार्यालयबाट स्थायी लेखा नम्बर लिएको छ।
विशिष्टिकृत अस्पताल भनेर दर्ताका लागि स्वास्थ्य सेवा विभागमा अस्पतालले निवेदन दिए पनि मापदण्ड पूरा नभएकोले विभागले दर्ता गरेको छैन। यसअघिसमेत यस अस्पतालमा विभिन्न घटना हुँदा स्वास्थ्य सेवा विभाग र मेडिकल काउन्सिलसहितको टोलीले अनुगमन गरेको थियो।