अन्नको भण्डार मानिने रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा गहुँको बीउ प्रशोधन तथा भण्डारण केन्द्र संचालनमा आएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ कार्यालय भैरहवा, कोटहीमाई गाउँपालिका र श्री नवदुर्गा स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले संयुक्त रुपमा बीउ प्रशोधन तथा भण्डारण केन्द्र संचालनमा ल्याएका हुन्।
भारतसँग सिमा जोडिएका रुपन्देहीको दक्षिणी क्षेत्र कोटहीमाई, मर्चवारी, सम्मरीमाई र मायादेवी गाउँपालिकासँगै लुम्बिनी सांस्कृतिक नगरपालिकाका केही वडाहरु समेतलाई मिलाएर मर्चवार क्षेत्र बनेको छ।
त्यहाँको करिब ६ हजार हेक्टर क्षेत्रफलमा गरिने गहुँ खेतीबाट वार्षिक २० हजार मेट्रिकटन गहुँ उत्पादन हुँदै आएको छ। सिंचाइ र मलको समेत प्रयाप्त सुविधा हुन सके यो क्षेत्रमा प्रतिहेक्टर करिब साढे तीन मेट्रिकटनको दरले गहुँ उत्पादन हुने गर्छ।
सोहि मर्चवार क्षेत्रको २० प्रतिशत क्षेत्र समेट्ने गरि ९२ लाख रुपैयाँको लागतमा बीउ प्रशोधन केन्द्र निर्माण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ कार्यालय भैरहवाका प्रमुख नारायण काफ्लेले जानकारी दिए।
कोटहीमाई गाउँपालिका वडा नं. ४ तुनिहवामा स्थापना गरिएको प्राथमिक प्रशोधन एवं भण्डारण केन्द्रको कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले उद्घाटन गरेका हुन्।
बीउ प्रशोधन केन्द्रको उद्घाटन गर्दै मन्त्री भुसालले कृषि नेपालीहरुको जीवनचक्र भएको बताए। ‘मानिस नलगाएर र नखाएर बाँच्न सक्दैन, त्यसैले कृषि हाम्रो जीवनचक्र र जीवन हो’, उनले भने।
मन्त्री भुसालले सरकारले कृषि क्षेत्रबाट उत्पादन बृद्धि, निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गर्नुपर्छ भनेर लागेको दावी गरे। उनले सरकारले कृषि क्षेत्रमा उत्पादन बृद्धि गरी गरिबी हटाउने गरी यान्त्रिकरण र बजारीकरण गरिरहेको मन्त्री भुसालले बताए।
प्रयाप्त सिँचाई, उन्नत बीउ र मलको व्यवस्था सँगै उत्पादकत्व वृद्धिका लागि यन्त्रिकरण र बजारीकरण आवश्यक रहेको भन्दै मन्त्री भुसालले सरकार उत्पादन र उत्पादकत्व बृद्धिका लागि हर प्रयास गरिरहेको बताए।
मन्त्री भुसालले कृषि उत्पादनको बजारीकरणलाई सहज होस् भनेर रुपन्देहीको सेमलारमा मुलुककै ठूलो कृषि संकलन केन्द्र बनाउन लागिएको जानकारी दिए।
मन्त्री भुसालले संघीय सरकारले मलको आयात गर्ने र यसको बितरण र व्यवस्थापनको जिम्मेवारी प्रदेश र स्थानीय तहको रहेपनि आयात, वितरण र व्यवस्थापन व्यवस्थित हुन नसकेको बताए।
उनकाअनुसार गत आर्थिक वर्षमा ४ लाख ७८ हजार मेट्रिकटन मल आयात गरेको र यो मल प्रयाप्त रहेको उनले दावी गरे। ‘कति मल चाहिन्छ भनेर सबै प्रदेशले माग गर्छन्, त्यहीअनुसार हामीले आयात गर्छौं, तर समयमा सही विवरण नपठाउँदा खेती लगाउने समयमा मल अभाव हुन्छ’, उनले भने।
मलको आयात प्रयाप्त भएपनि वितरणमा हुने गडबडीले किसानले समयमा मल पाउन नसकेको भन्दै उनले वितरणमा गडबडी गर्नेहरुलाई कारबाही हुने गरेको बताए।
कतिपय कृषि सहकारीले नै कालोबजारी गर्न थालेको उल्लेख गर्दै त्यस्ता सहकारीलाई कारवाही गर्न जनप्रतिनिधि र किसानहरु लाग्नुपर्ने मन्त्री भुसालले बताए।
श्री नवदुर्गा स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद कुर्मीले रुपन्देहीमा यस्तै दुई तिनवटा प्रशोधन केन्द्र स्थापना गर्न सके किसानहरु भारतीय बीउमा निर्भर हुनुपर्ने बाध्यताबाट मुक्त हुने बताए।
यो प्रशोधन केन्द्र संचालनमा आएपछि भारतीय कमसल बीउको प्रयोग रोकिने र उत्पादन र उत्पादकत्व बृद्धि हुने उनको भनाइ छ।