पश्चिम नवलपरासीमा विहारका भग्नावशेष, पर्खाल र प्राचीन पोखरीका संरचना फेला परेका छन्। गौतम बुद्धको अस्तुधातु रहेको रामग्राममा पुरातत्व विभाग, लुम्बिनी विकास कोष, युनेस्को र दुर्हाम विश्वविद्यालयका विज्ञहरूको टोलीले उत्खनन गरिरहेको थियो।
गत नोभेम्बर १ तारिखदेखि विज्ञहरूको टोलीले सुरू गरेको उत्खननको क्रममा रामग्राम स्तुपको उत्तर पश्चिमतर्फ प्राचिन विहारका भग्नावशेष र पोखरी फेला परेको हो।
रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवका अनुसार सरकारले प्राथमिकताका साथ उत्खनन र संरक्षण नगर्दा त्यहाँका पुरातात्विक संरचनाहरू जमिनमुनि थिए। उत्खनन गर्दा फेला परेका प्राचीन अवशेष र संरचनाले उत्साहित बनाएको उनले बताए। रामग्राम स्तुप गौतमबुद्धको अस्तु राखिएको आठ भागमध्ये एक ठाउँ हो।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले रामग्राम स्तुपमा गरिएको भौगर्भिक सर्भेमा देखिएको संरचनालाई अहिले गरिएको उत्खननले पुष्टि गरेको बताए। पुरातत्व विज्ञहरूको टोलीले यही नोभेम्बर ३० तारिखसम्म रामग्राममा उत्खनन गर्ने जनाएको छ।
पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले रामग्राममा प्राचीन विहारका भग्नावशेष, पर्खाल र पोखरीका संरचना भेटिएकाले स्तुपको एक हजार मिटरभन्दा बाहिरको क्षेत्रमा पनि अनुसन्धान गर्नुपर्ने बताए।

