पेस्तोल पड्किएर प्रहरी जवान घाइते भएको घटनामा महोत्तरीका असई रामईश्वरप्रसाद यादव निलम्बनमा परेका छन्।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) जनक भट्टराईले असई यादवलाई आइतबार निलम्बन गरेको कार्यालयका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए।
कात्तिक ३० गते राति एकडारा गाउँपालिका–४ स्थित हलखोरी प्रहरी चौकीका इन्चार्ज यादवको पेस्तोल पड्केर प्रहरी जवान राजेशकुमार साह घाइते भएका थिए।
उक्त घटना केही दिनअघि बाहिरिएपछि मधेश प्रदेश प्रहरी कार्यालयले उनलाई निलम्बन गरी छानबिनको प्रक्रिया अघि बढाएको एसपी महतोले बताए।
‘निलम्बन परेसँगै जिल्ला प्रहरी कार्यालय महोत्तरीले आन्तरिक रूपमा छानबिन थालेको छ,’ उनले भने, ‘यस घटनाको संवेदनशीलतालाई मध्यनजरमा राखेर निलम्बन गरी छानबिन गरिएको हो। उनको लापरबाही थियो/थिएन भन्ने छानबिनपछि थाहा हुन्छ।’
उक्त घटना कात्तिक ३० गते भएको भएपनि महोत्तरी प्रहरीले गत शुक्रबार मात्रै थाहा पाएको थियो।
प्रहरी जवान साहलाई भारतमा उपचारका लागि लगिएको थियो। त्यसबारेमा भारतीय प्रहरीले सप्तरी प्रहरीलाई फोनमार्फत जानकारी दिएपछि घटना बाहिरिएको हो।