युकेको नागरिक हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार काठमाडौंबाट एक जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।
पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका-५ बस्ने ३४ वर्षीय कमला मिश्र छिन्। उनले आफू युकेको नागरिक हुँ र विवाह नभएको भन्दै विश्वासमा पारी एक पुरूषसँग ३ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप छ।
मिश्रले ती पुरूषलाई जन्मदिनको उपलक्ष्यमा आइफोन, लुगा, ब्याग, सुनका घडी तथा ७० हजार डलर पठाइदिने बताएकी थिइन्।
मिश्रले डेलिभरीमार्फत गिफ्ट लिनु भनेकी थिइन्। तर सामान छुटाउनको लागि भन्दै उनले पटकपटक गरी ३ लाख ३० हजार रुपैयाँ बुझेको आरोप छ।
यसरी पैसा बुझाएर पनि सामान नआएपछि ठगिएको भन्दै ती पुरूष प्रहरीकहाँ पुगेका थिए। त्यसपछि प्रहरीले मिश्रलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।
काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ।