सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण सुरू गर्न माग गर्दै आन्दोलित भएका युवा जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि धर्ना बसेका छन्।
दुई वर्षअघि शिलान्यास गरेर अलपत्र छोडिएको प्रतिष्ठानको काम अघि बढाउन माग गर्दै सप्तरी युथ नेपालका युवा आज जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना बसेका हुन्।
प्रतिष्ठान निर्माण कार्यलाई यथाशीघ्र अघि बढाउनुपर्ने, प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिमा रिक्त भएका पदहरूमा अविलम्ब पदाधिकारी र कर्मचारी नियुक्त गर्नुपर्ने, प्रतिष्ठान निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्ने लगायतका माग राख्दै उनीहरूले आन्दोलन थालेका हुन्।
बुधबार दिउँसो आन्दोलित युवाले टर्च बालेर नेता तथा सांसदको खोजी भन्दै हातमा पोस्टर बोकेर सांकेतिक विरोध प्रदर्शन गरेका थिए। त्यसअघि मंगलबार उनीहरूले सिटी जुलुस र सोमबार र्याली प्रदर्शन गरेका थिए।
प्रतिष्ठान नहुँदा जनताको स्वास्थ्य सेवामा सहज पहुँच नभएको भन्दै युवाले आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै आन्दोलनको घोषणा गरेको थियो। निर्माण कार्य सुरू नहुन्जेलसम्म निरन्तर आन्दोलन जारी राख्ने सप्तरी युथ नेपालका सह-संयोजक मोहन यादवले जानकारी दिए।
उनका अनुसार शुक्रबार दुई घण्टा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने कार्यक्रम छ।
एक प्रदेश, एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीतिअनुसार ०७५ साल पुस १६ गते मन्त्रिपरिषद्को बैठकले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो। त्यसका लागि २०७८ जेठ २८ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका–१० बिरौलस्थित रहेको ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागि लिजमा दिने निर्णय गरेको थियो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ असार २२ गते प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए। तर, शिलान्यासको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि निर्माण कार्य सञ्चालन हुन सकेको छैन।
अध्यक्ष डा.रोहित पोखरेल प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बनेपछि प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको कार्यालय समेत अहिले नेतृत्वबिहीन बनेको छ। गजेन्द्रनारायण सिंह अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट एवं प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रञ्जितकुमार झा सरुवा भएर अन्यत्र गएपछि कार्यकारी निर्देशकको पदसमेत रिक्त छ। कार्यालयमा करारमा रहेका तीनजना कर्मचारीको म्याद समेत थप गरिएको छैन।