नेपालीलाई रूस पठाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले १२ जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको एसपी कुमोध ढुंगेलले जानकारी दिए।
पक्राउ पर्नेमा दोर्ना दाँगी, दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष रोक्का र सन्तोष नेपाली छन्।
उनीहरूले नेपालीहरूलाई रूसी सेनामा पठाएको आरोप छ।
उनीहरूलाई भिजिट भिसामा नेपालबाट नयाँ दिल्ली र त्यहाँबाट रूस पठाइएको पाइएको स्रोतले बतायो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रूस जान खोज्नेहरूलाई प्रहरीले रोक्न सक्ने भन्दै उनीहरूले एजेन्टहरूमार्फत नयाँ दिल्लीमार्फत रूस जाने गरेको पाइएको हो।
भिजिट भिसामै नेपालबाट रूसी सेनामा भर्ना भएका ६ जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको थियो। एक जना युक्रेनी सेनाको बन्धकका रूपमा राखिएको पनि उक्त विज्ञप्तिमा उल्लेख थियो।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पनि सोमबार सम्पादकहरूसँग कुराकानी गर्दै नयाँ दिल्ली हुँदै रूस जाने गरेको बताएका थिए।