प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवर अष्ट्रियाको भियनामा सम्पन्न इन्टरपोलको ९१औं महासभामा सहभागी भएर बिहीबार स्वदेश फर्किएका छन्।
बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइजिपी कुँवरसहितको टोलीलाई स्वागत गर्न नेपाल प्रहरीका एआइजी, डिआइजी लगायत प्रहरी अधिकृतहरू पुगेका हुन्।
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा मंसिर १२ देखि १५ गतेसम्म महासभा संचालन भएको थियो। महासभामा नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) नेपालका प्रमुख रहेका आइजिपी कुँवर नेतृत्वको टोली र इन्टरपोलका अध्यक्ष र महासचिवबीच शिष्टाचार भेट र छलफल भएको थियो।
इन्टरपोलको ग्लोबल आउटरिच एन्ड रिजनल सपोर्ट (जिओआरएस)का प्रतिनिधिहरू तथा भारत, चीन र युएईका प्रतिनिधि लगायतका विभिन्न मित्रराष्ट्रहरूसँग फरार प्रतिवादीहरू र क्षमता अभिवृद्धि लगायतका विविध विषयमा छलफल तथा द्विपक्षीय बैठक समेत भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
महासभाबाट इन्टरपोलको १९६औं सदस्य राष्ट्रको रुपमा द रिपब्लिक अफ पलाउलाई निर्वाचनको माध्यमबाट मान्यता प्रदान गरेको छ। महासभाले इन्टरपोलको ९२औं महासभा सन् २०२४ मा संयुक्त राज्य बेलायतको ग्लास्गोमा र ९३औं महासभा सन् २०२५ मा मोरक्कोको माराकेमा आयोजना गर्ने निर्णय गरेको छ।
इन्टरपोल स्थापनाको १०० वर्षको अवसरमा नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराएका प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीलाई इन्टरपोलबाट विशेष निमन्त्रणा गरिएको थियो। उक्त महासभामा उनले इन्टरपोलका अध्यक्ष मेजर जनरल डा. अहमद नसिर अल-राइसीबाट प्रमाणपत्र प्राप्त गरेका थिए। यस्तै इन्टरपोलका महासचिव जुर्जेन स्टकले विशेष सिक्का दिएर सम्मान गरिएको थियो।
यस्तै इन्टरपोलको भडिओ प्रतियोगितामा नेपालले ‘लेट्स सेभ द प्लानेट- इन्टरपोल १००’ विषयक सूचनामूलक छोटो भिडिओ सर्वोत्कृष्ट घोषित भएको थियो।