सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले चितवन रत्ननगर नगरपालिका-१० घर भई काठमाडौं बस्ने ४२ वर्षीय चतुर्मान महतोलाई पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए।
उनलाई प्रहरीले काठमाडौंको बबरमहलबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएको छ।
एसपी रायका अनुसार महतो र पीडित महिलाबीच सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो। चिनजान हुँदा भेटघाटको क्रममा खिचिएका तस्बिर र भिडिओलाई सम्पादन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
ती पीडित महिलाले अहिले विवाह गरिसकेकी छन्। त्यसो हुँदा महतोले त्यसरी सम्पादन गरेको तस्बिर र भिडिओलाई हालका श्रीमानलाई पठाएर चरित्र हत्या गरेको भन्दै पीडित साइबर ब्युरो पुगेकी थिइन्।
यसमा संलग्न भएको खुलेपछि प्रहरीले महतोलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।