जलवायु न्यायसम्बन्धी विश्वव्यापी कार्य दिवसको अवसरमा युवा नेतृत्वको गठबन्धन काठमाडौंमा भएको छ।
‘कोप २८’ मा भइरहेको जलवायु न्यायको वकालत गर्ने अन्तर्राष्ट्रिय आन्दोलन ‘ग्लोबल डे अफ अन क्लाइमेट जस्टिस’सँग पंक्तिबद्ध भएर यो भेला शनिबार काठमाडौंमा आयोजना भएको हो।
भृकुटीमण्डपमा भेला भएर टोली वातावरणीय दिगोपन र जलवायु न्यायका लागि दृढ माग गर्दै सहिदगेट हुँदै इन्द्रचोकसम्म हिँडेका थिए। स्थानीय वातावरण अभियन्ता र सरोकारवाला नागरिकहरूले पनि जलवायु परिवर्तनको बढ्दो खतराविरूद्ध एकताबद्ध रूपमा नारा लगाउँदै हिँडेका थिए।
सांसद विराजभक्त श्रेष्ठले जलवायु न्याय राजनीतिकभन्दा पनि सबै जनाको सामूहिक र एकताबद्ध आवाज भएको बताए।
अभियन्ता अर्नब चौधरीले जलवायु प्रकोपमा आदिवासी र सीमान्तकृत समुदायहरू जोखिममा रहेको बताए।
यी समुदायहरूलाई जोगाउन तत्काल वकालत गर्नुपर्ने आवश्यकता भइसकेको कुरामा उनले जोड दिए।
आयोजक टोलीका तर्फबाट झरना गिरीले सबै सहभागी र समर्थकहरूलाई कृतज्ञता व्यक्त गर्दै दिगो भविष्यका लागि वातावरण सुरक्षाको महत्त्वपूर्ण भूमिकामा जोड दिइन्।