दाङको घोराही–मुर्कटी सडक खण्ड अन्तरगत हर्नौकको ओरालोमा एक टिपरले अर्को टिपरलाई पछाडिबाट ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन्।
ठक्कर दिने टिपरका सहचालक घोराही उपमहानगरपालिका – ३ का १९ वर्षीय अलोक चौधरी दुई टिपरका बीचमा च्यापिएर गम्भीर घाइते भएका हुन्।
टिपरका बीचमा च्यापिएका सहचालक चौधरीलाई निकाल्न एक घन्टाभन्दा बढी समय लागेको थियो।
चौधरीको उद्धार गरी डेढ घन्टापछि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताए।
'सहचालक चौधरीको अगाडिबाट दुवै खुट्टा च्यापिएको हुँदा निकाल्न निकै मेहनत गर्नुपरेको थियो,' मल्लले भने, 'उनका दुवै खुट्टा थिलथिलो भएका छन्, उद्धार गरी अस्पताल पुर्याइएको छ।'
घोराही– १ हर्नौकको ओरालोमा रा १ ख २२५४ नम्बर टिपरले अगाडि गुडिरहेको रा १ क १२७४ नम्बरको टिपरलाई बेलुका साढे सात बजेतिर पछाडिबाट सिधा ट्रलीमा ठक्कर दिएको थियो।
चुन ढुंगा बोकर झर्दै गरेका टिपर दुवै एकै दिशा घोराहीतर्फ झरिरहेका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।