पाल्पाको तानसेन कैलाशनगरमा निर्माण गरिएको श्रीनगर सांस्कृतिक डबली (खुला नाचघर) को सञ्चालनको जिम्मेवारी तानसेन नगरपालिकालाई सुम्पिएको छ।
तत्कालीन लुम्बिनी प्रदेश सरकारको आर्थिक लगानीमा २०७६ साल असार ८ गते निर्माण सुरू गरिएको सांस्कृतिक डबली गत वर्ष नै निर्माण सम्पन्न भए पनि कसले सञ्चालन गर्ने भन्ने टुंगो लाग्न नसक्दा सञ्चालनमा आउन सकेको थिएन।
जिल्लाका विभिन्न जातजाति, समुदायका कला र संस्कृति प्रदर्शन गर्नुको साथै पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले निर्माण गरिएको डबली लामो समयसम्म अलपत्र परेको गुनासो बढेपछि प्रदेश सरकारले तानसेन नगरपालिकालाई सञ्चालन र व्यवस्थापनको जिम्मेवारीसहित हस्तान्तरण गरेको हो।
कुल ६ करोड ८२ लाख ५६ हजार रुपैयाँको लगानीमा निर्माण गरिएको डबलीको चाबी लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठलाई हस्तान्तरण गर्दै सञ्चालन र व्यवस्थापनको जिम्मेवारी सुम्पिएका हुन्।
चाबी हस्तान्तरण गर्दै मुख्यमन्त्री चौधरीले तानसेनको कलासंस्कृति र पर्यटनको संरक्षण तथा प्रवर्द्धन गर्न डबलीले इट्टा थपेको भन्दै डबलीबाट जिल्लाको कला संस्कृतिको संरक्षण र प्रवर्द्धन हुने विश्वास व्यक्त गरे।
तानसेन आफैंमा पर्यटकीयस्थल भए पनि डबलीले तानसेनको ब्राण्डिङ तथा प्रवर्द्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने मुख्यमन्त्री चौधरीले बताए।
लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले स्थानीय सरकार र प्रदेश सरकारको सहकार्यले ढिलै भए पनि डबली निर्माण सम्पन्न भएको भन्दै यसको व्यवस्थापन र सञ्चालनमा पनि सहकार्य जरूरी रहेको बताए।
तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले प्रदेश सरकारले दिएको जिम्मेवारीलाई नगरपालिकाले प्राथमिकताका साथ अगाडि बढाउने बताए।
पर्यटन डिभिजन कार्यालय रूपन्देहीकी प्रमुख गीता आचार्यले स्थानीय जाति, समुदायको मौलिक संस्कृति प्रदर्शन गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले निर्माण गरिएको सांस्कृतिक डबलीभित्र स्टेडियम, कफी हाउस, पार्किङ स्थल, हरियाली बगैंचा निर्माण गरिएको जानकारी दिइन्।
डबलीभित्र स्वास्थ्य परीक्षण केन्द्र, टिकट घर तथा सुरक्षा गार्ड बस्ने घरको समेत निर्माण गरिएको छ। पाँच सय जनाले डबलीभित्र बसेर विभिन्न जातजाति तथा भाषाभाषीको नाँच तथा सांस्कृतिक प्रस्तुति अवलोकन गर्न सक्ने छन्।