बाराको सिम्रौनगढमा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन्।
बुधबार दिउँसो सिम्रौनगढ नगरपालिका परिसरमा प्रहरी र प्रदर्शनकारीहरूबीच झडप हुँदा प्रहरीले गोली चलाएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।
उनका अनुसार नगरपालिकाको नगर सभा नभएको र कर्मचारीहरूले ६ महिनादेखि तलब पाएका छैनन्।
प्रमुख प्रशासकीय अधिकृत पनि नहुँदा कर्मचारीहरुले तलब पाउन नसकेको हो। बुधबार भने नयाँ अधिकृत उपस्थित भएका थिए। कर्मचारीहरूले तलब नपाएको भन्दै लामो समयदेखि नगर परिसरमा धर्ना दिइरहेका थिए।
बुधबार नगरपालिकामा मेयर किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत आएपछि प्रदर्शनरत कर्मचारीहरूले मेयरको गाडीमा तोडफोड गरेका थिए।
मेयर र अधिकृत भागेर कोठामा प्रवेश गरेको र त्यसपछि प्रहरी र आन्दोलनरत व्यक्तिहरूबीच झडपको स्थिति बनेको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए।
‘स्थितिलाई नियन्त्रणमा लिन थप प्रहरी, सशस्त्र प्रहरी पठाइएको थियो। प्रहरीले अश्रु ग्यास र हवाइ फायर गरेको छ,’ उनले भने, ‘त्यसक्रममा एक जना पुरूषलाई गोली लागेको हो। अवस्था चिन्ताजनक छ।’
घाइते पुरूषको पहिचान खुलिसकेको छैन। उपचारको लागि ती पुरूषलाई वीरगञ्जस्थित नारायणी अञ्चल अस्पतालमा पठाइएको छ।
गोली कहाँ र कसरी लागेको भन्ने नखुलेको उनले बताए।
यस्तै झडपको क्रममा १० जना प्रहरी समेत घाइते भएको उनले जानकारी दिए। अहिले स्थिति नियन्त्रणमा आइसकेको छ।