त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले समाएको १४ किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्।
भन्सार कार्यालयको टोलीले सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले पुष्टि गरे।
मंसिर २१ गते राति ११:४० बजे फ्लाइ दुबई एफजेड ५७३ बाट आएका चन्द्र घले पक्राउ परेका थिए। उनले ज्याकेट बनाएर १४ किलो सुन ल्याएका थिए।
सुन भित्रिँदैछ भन्ने सूचना पाएको भन्सार कार्यालयले उनी आउन बित्तिकै विमानबाटै पक्राउ गरेको थियो।
उनले सुन गोरखाका मीनबहादुर घलेको बताएका थिए। त्यही राति नै मीनबहादुर घलेलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
१४ किलो सुन बरामद भएपछि भन्सार कार्यालयले त्यसको छानबिन गर्न समिति पनि गठन गरिसकेको छ।
प्रमुख भन्सार अधिकृत मणिराम पौडेल, प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, भन्सार अधिकृत डिल्लिप्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना समितिमा छन्।