काभ्रेमा टेलर गाडीको ठक्करबाट मोटरसाइकलमा सवार २ जना घाइते भएका छन्।
आज बिहान पौने ८ बजे काभ्रेको धुलिखेल नगरपालिका-८ जिपलाइन नजिकै अरनिको राजमार्गमा धुलिखेलबाट खावाँतर्फ जाँदै गरेको लु ६५ प ३९७५ नम्बरको मोटरसाइकललाई सोहीतर्फ जाँदै गरेको ना ३ ख ७६७९ नम्बरको टेलर गाडीले ठक्कर दिएको थियो।
काभ्रे प्रहरीका अनुसार ठक्करबाट मोटरसाइकलमा सवार काठमाडौंको बौद्धका ५२ वर्षीय ब्यास कार्की र उनकी २३ वर्षीया छोरी सिर्जना कार्की घाइते भएका छन्।
ब्यासको अवस्था सामान्य भएपछि सिर्जनाको स्वास्थ्य अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ। उनको दाहिने खुट्टा र हातमा चोट लागेको प्रहरीले जनाएको छ।
दुवै जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।