पेस्तोल र लागुऔषध खैरो हेरोइनसहित भक्तपुरबाट दुईजना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार भक्तपुरको सुर्यविनायक नगरपालिका-१० नलिन्चोक क्षेत्रबाट इलाम नगरपालिका-९ का ४१ वर्षीय चिरन्जीवी सिन्चुरी र नवलपुरको कावासोती नगरपालिका-२ का लेख बहादुर कार्कीलाई पक्राउ गरेको हो।
कार्यालयका सूचना अधिकारी एसपी मिलन केसीका अनुसार त्यस क्षेत्रमा लागु औषध कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरीको टोली खटिएको थियो।
पक्राउ परेका दुईजनाको साथबाट केएफ ७.६५ लेखिएको ५ राउन्ड गोली लोड भएको म्याग्जीनसहितको पेस्तोल एक थान, पेस्तोलमा लाग्ने खाली म्याग्जिन र ५ ग्राम खैरो हेरोइन बरामद भएको एसपी केसीले जानकारी दिए।
उनीहरूलाई लागुऔषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा आवश्यक कारबाही तथा अनुसन्धानका लागि प्रहरी वृत्त जगाती पठाइएको एसपी केसीले जानकारी दिए।