विवाहपञ्चमी कार्यक्रम अन्तर्गत आज विवाह महोत्सव मनाइँदै छ।
दिउँसो रंगभूमि मैदानमा स्वयंवर र भगवान श्रीराम र माता जानकीको डोला मिलन गरिनेछ। सो डोलालाई नगर परिक्रमा गराइने छ।
बेलुकी जानकी मन्दिरमा वैवाहिक कार्यक्रम आयोजना गरिनेछ। विवाहमा अयोध्याबाट साधु सन्तहरु जन्तीको रुपमा आउनेछन्।
वैवाहिक कार्यक्रममा प्रत्येक वर्ष झै यसवर्ष पनि माता सीताको अभिभावकको भूमिका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र भगवान श्रीरामको अभिभावकको भूमिका अयोध्या लक्ष्मण किलाधिशबाट महन्थले निर्वाह गर्नेछन्।
महोत्सव हेर्न नेपाल भारतका विभिन्न ठाउँबाट हजारौँको संख्यामा श्रद्धालुभक्तजन आएका छन्। सोमवार जन्तीलाई भोजन गराइ सम्धी मिलन सहित रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ।
राम जानकी विवाह पञ्चमी महोत्सवको पूर्वसन्ध्यामा हिजो मटकोर उत्सव सम्पन्न भएको थियो।
जनकपुरधामस्थित गंगा सागर पोखरीबाट विवाहका लागि वेदी बनाउन माटो खनेर सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मटकोर विधि मनाइएको थियो।
मिथिलामा विवाहपूर्व बेहुला र बेहुलीको मटकोर गर्ने चलन। त्यसै अनुसार माता सीताको स्वरुपलाई पुजापाठ गरी गंगा सागरको डिलमा खनिएको माटो वेदीका लागि मन्दिरमा भित्र्याइसकिएको छ। सोही माटोले विवाहका लागि बन्ने बेदी (मडवा) मा प्रयोग गरिनेछ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको नेतृत्वमा मन्दिरबाट बाजागाजाका साथ साधु सन्त सहित हजारौ श्रद्धालुको सहभागितामा मैथिली वैवाहिक गीत गाउँदै माटो खन्न गंगा सागर पोखरी पुगेका थिए। मटकोरमा नेपाल प्रहरी, नेपाली सेना, मधेश प्रदेश सांसद, केन्द्रीय सांसद जुली महासेठ समेत उपस्थित थिए।
यसअघि सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ र चौंथौं दिन तिलकोत्सव मनाइएको थियो।
त्रेतायुगमा भगवान राम र सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा मंसिर शुक्ल पञ्चमी तिथिका दिन हर्षोल्लास एवं धूमधामका साथ विवाह पञ्चमी महोत्सव मनाइन्छ।
विवाह कार्य सम्पन्न गर्न कम्तिमा ७ दिन लाग्ने भएको भन्दै केही दशकदेखि सप्ताहव्यापी कार्यक्रम आयोजना गरिदै आएको छ।