छात्रवृत्ति र दिवा खाजाका लागि नेपाल सरकारले पठाएको रकमले निजी स्रोतका शिक्षकलाई तलब खुवाएको गुनासो आएको छ।
स:सर्त अनुदानका रूपमा सरकारले पठाएको बजेट स्वीकृत कार्यक्रम कार्यान्वयन पुस्तिकामा उल्लेख भएअनुसार मात्रै खर्च गर्नुपर्नेमा निजी स्रोतका शिक्षकलाई तलब खुवाइएको गुनासो आएको हो।
यस्तो गुनासो आएपछि शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आइतबार गोरखापत्रमा सूचना निकालेर यस्तो नगर्न भनेको छ।
‘केही विद्यालयहरूले छात्रवृत्ति र दिवा खाजा शीर्षकमा प्राप्त भएको रकम विनियोजित शीर्षकभन्दा बाहिर गई निजी स्रोतका शिक्षकहरूको पारिश्रमिकमा खर्च गरेको जानकारी आएकोले यसमा केन्द्रको गम्भीर ध्यानाकर्षण भएको छ,’ सूचनामा उल्लेख छ।
छात्रवृत्ति, दिवा खाजा र नि:शुल्क पाठ्यपुस्तकलगायत विभिन्न शीर्षकभन्दा बाहिर गई त्यस्तो रकम शिक्षकलाई तलबभत्तामा भुक्तानी दिने कार्य कानुन र स्वीकृत आधार तथा मापदण्डविपरीत हुने केन्द्रको भनाइ छ।
केन्द्रले कति विद्यालयमा छात्रवृत्ति, दिवा खाजा र नि:शुल्क पाठ्यपुस्तकलगायतमा पठाइएको पैसाले शिक्षकलाई तलब खुवाए भन्ने तथ्यांक भने सार्वजनिक गरेको छैन।
यस्तो छ सूचना:
