टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको घटनामा जिल्ला प्रशासन कार्यालय दाङ र पीडित पक्षबीच छलफल भइरहेको छ।
गए राति १०:२० बजे तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ क १३०७ नम्बरको टिपरको ठक्करबाट रा २ प ५५८९ नम्बको मोटरसाइकलमा सवार प्युठानका मामा-भान्जाको मृत्यु भएपछि प्रशासन कार्यालयमा आइतबार छलफल भइरहेको हो।
प्युठानको झिमरुक गाउँपालिका–४ बाङ्गेका १७ वर्षीय विशाल जिसी र नौंबहिनी गाउँपालिका–६ लुङका १८ वर्षीय सागर केसीको मृत्यु उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको थियो।
उनीहरूको मृत्यु भएपछि आइतबार बिहान केही युवाहरूले सडकमा टायर बालेर बन्द गर्ने प्रयास गरेका थिए।
त्यसपछि समस्याको समाधान गर्न प्रशासनले उनीहरूलाई बोलाएको हो।
नौबहिनी गाउँपालिका–६ का वडाध्यक्ष मानबहादुर केसीले छलफल जारी रहे पनि कुरा नमिलेको बताए।
‘हाम्रो माग घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका शव घरसम्म पुर्याइदिनुपर्छ भन्ने छ। मृतकका आफन्तलाई बीमा रकमबाहेक थप राहत दिनुपर्छ भन्ने हो,’ उनले भने।
यो विषयमा सुरूमा प्रहरी प्रशासन असहयोगी बनेपछि उचित क्षतिपूर्तिको माग गर्दै घोराहीस्थित तुलसीपुर चोकमा पीडितको न्यायको लागि बिहान सडक बन्द गरी टायर बाल्ने जस्ता दवावका कार्यक्रम गर्नु परेको वडाध्यक्ष केसीले बताए।
उनले पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने र उनीहरूका आफन्तलाई न्याय दिनुपर्ने माग गर्दै प्रहरी प्रशासनले बल प्रयोगका गरेको भन्दै विरोध जनाए।
उनले प्रहरीले आफूसहित झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेललगायत शान्तिपूर्ण आन्दोलनमा रहेका आफूहरूलाई नियन्त्रणमा लिएर जबरजस्ती गर्न खोजेको बताए।
जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बिहान सडकमा चक्का जाम गर्दै टायर बाल्न थालेपछि सर्वसाधारणको सहज यातायातका लागि प्रदर्शनमा उत्रिएका १२-१५ जनालाई वार्ताको लागि जिल्ला ल्याउनु परेको बताए।
‘त्यहाँ को-को थिए हामीले त्यो हेर्ने कुरा भएन हामीले पक्राउ गरेका हैनौं,’ एसपी केसीले भने, ‘उत्पन्न समस्या समाधानका गर्न वार्ताका लागि लिएर आएका हौं।’
पछि मात्रै जनप्रतिनिधि पनि थिए भन्ने कुरा खुलेको उनले बताए।
यो पनि: टिपरको ठक्करबाट मोटरसाइकलमा सवार मामा-भान्जाको मृत्यु