१७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा नेकपा माओवादी केन्द्रका एक जना नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी वृत्त बानेश्वरले नाबालिका बलात्कार अभियोगमा गोरखाका भूमिनन्द देवकोटालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले बताए। प्रहरीले उनलाई गत साता पक्राउ गरेको थियो।
गोरखा मुच्चोकका देवकोटा माओवादी केन्द्रनिकट छन्। उनी हिसिला यमी मन्त्री हुँदा स्वकीय सचिव थिए। तर यमीले माओवादी छाडेपछि देवकोटा भने माओवादीमै सक्रिय रहेका थिए।
नाबालिका काठमाडौं महानगरपालिका वडा नम्बर ३२ पेप्सीकोलास्थित देवकोटाको घरमा बस्दै आएकी थिइन्। विगत एक वर्षदेखि नाबालिकामाथि देवकोटाले जबरजस्ती करणी गर्ने गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।
यस्तै प्रहरीले अर्का एक जनालाई पनि पक्राउ गरेको छ। पेप्सीकोला बस्ने २७ वर्षीया दिपेश नेपालीलाई प्रहरीले नाबालिकालाई बलात्कार गरेको आरोपमा नियन्त्रणमा लिएको हो।
नेपाली नाबालिकाकी प्रेमी रहेको खुलेको छ। उनले गत कात्तिक ३० गते नाबालिकामाथि बलात्कार गरेको भन्दै उजुरी परेको छ।
पीडितको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। नाबालिकालाई एक संस्थाको संरक्षणमा काठमाडौंमा राखिएको छ।
प्रहरीले यस प्रकरणमा म्याद थप गरी जबरजस्ती करणी प्रकरणमा अनुसन्धान अघि बढाएको छ।