कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावित जिल्लाका विद्यार्थीहरूलाई नियमित रूपमा मनोपरामर्श दिनुपर्ने देखिएको छ।
भूकम्पबाट प्रभावित जाजरकोट र रूकुम पश्चिमका विद्यार्थीहरू भयभित देखिएकाले उनीहरूलाई चिकित्सक सहितको नियमित मनोपरामर्श दिनुपर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूले बताएका छन्।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको एक कार्यक्रममा उनीहरूले विनाशकारी भूकम्पबाट जिल्लाको शिक्षामा परेको प्रभाव, आवश्यकता लगायतका विषयमा ध्यानाकर्षण गराएका छन्।
‘विपद पछि बालबालिकामा मनोसामाजिक समस्या छ, कतिपय विद्यार्थीले घर तथा परिवारका सदस्य गुमाउनुपरेको छ,’ सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ रूकुम पश्चिमका अध्यक्ष नरेन्द्र केसीले भने, ‘यसले पढाइमा खासै ध्यान जाँदैन, त्यस्ता बालबालिकाका लागि नियमित मनोपरामर्शको व्यवस्था गर्नुछ।’
उनले पहाडी भूभागमा उच्च जाडो अब सुरू भएकाले थप समस्या निम्तिने सम्भावना बढेको बताए। भूकम्पले क्षति पुर्याएका विद्यालयमा न्यानो वातावरणको अस्थायी सिकाइ केन्द्रसँगै न्यानो कपडाको पनि खाँचो रहेको उनले बताए।
उनले विद्यालयमा सुरक्षित खानेपानीको व्यवस्थापन र खानपिनमा सुरक्षा सतर्कता अपनाउने विषयमा सचेत गराउनुपर्ने बताए।
‘विपदका बेला खानपिनमा सुरक्षा सतर्कता अपाउनेतर्फ मानिसको ध्यान हुँदैन, यसले भोलि महामारी ल्याउन सक्ने भएकाले ध्यान दिनुपर्नेछ,’ अध्यक्ष केसीले भने।
उनका अनुसार रुकुम पश्चिममा विकास साझेदार संस्थाहरूसँगको समन्वयमा प्रभावित विद्यालयहरूमा अस्थायी सिकाइ केन्द्र बनाएर सिकाइलाई निरन्तर गरिएको छ।
भूकम्पले क्षति पुगेकासँगै अन्य विद्यालयमा पनि अबदेखि भूकम्प प्रतिरोधी भवन बनाउन योजना बनाएर कार्यान्वयनमा ल्याउनुपर्ने उनले बताए। उनले बाल क्लबहरूको क्षमता विकास गरी निर्णय प्रक्रियामा पनि सहभागी गराउनुपर्नेमा जोड दिए।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ जाजरकोटका अध्यक्ष सुरेन्द्र चन्दले शिक्षा क्षेत्रमा भूकम्पले अपुरणीय क्षति पुर्याएको बताए। जाजरकोटमा २७९ विद्यालय पूर्ण रूपमा क्षति भएको उनले बताए। भूकम्पपछि विद्यार्थीहरू भयभित मनस्थितिमा रहेको चन्दले बताए।
‘विपद पछि जिल्लाको शिक्षामा कहालीलाग्दो अवस्था सिर्जना भएको छ, अहिले पनि विद्यार्थी भयभित बनेका छन्,’ उनले भने, ‘जाडो समयमा पालमुनि बसेर पढ्ने विद्यार्थीको अवस्था दयनीय देखिन्छ, घरमा पनि उनीहरूको त्यस्तै अवस्था भएकाले पढाइमा रूचि देखिँदैन।’
कतिपय विद्यालयमा फरकफरक कक्षाका विद्यार्थीहरूलाई पनि एउटै अस्थायी सिकाइ केन्द्रमा राखेर संयुक्त रूपमा पढाउनुपर्ने अवस्था रहेको चन्दले बताए। विद्यालय भने निरन्तर चलिरहेको उनले बताए।
‘विद्यार्थीहरूमा विपदको डर अझ पनि छ, गएको विपदमै कतिपय विद्यार्थीले आवास र परिवारका सदस्य गुमाउनु परेकोले मनोसामाजिक समस्या सिर्जना भएको छ,’ उनले भने, ‘अति प्रभावित क्षेत्रका विद्यार्थीहरूलाई मनोपरामर्शको अत्यन्तै जरुरी छ।’
अधिकांश विद्यार्थीहरूलाई चिसोका कारण रूघाखोकीले सताएको उनले बताए। निरन्तर जाडो सहेर विद्यालयमा पढ्दा उनीहरूमा ज्वरोको संक्रमण सिर्जना भएर अवस्था थप जटिल बन्ने डर देखिएको चन्दले बताए।
‘अबका दिनमा हामीले माटोको गाह्रो प्रयोग गरेर घर वा विद्यालय भवन नबनाउने योजना अघि सार्नुपर्छ, शैक्षिक क्षेत्रमा भूकम्प प्रभावित संरचना अनिवार्य गरिनुपर्छ भन्ने सिकाइ भएको छ,’ उनले भने, ‘विपदले शिक्षा क्षेत्रमा हुने सानो क्षति पनि अपुरणीय जस्तै हुने भएकाले, विशेष ध्यान दिनुपर्छ।’