कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको म १ ख ९३५ नम्बरको बसले सोही दिशा गइरहेको सुपप्र ०१–००९ प १२०७ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिएको थियो।
बसको ठक्करबाट मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका–२ बन्साहका शिवराज अवस्थी र उनकी श्रीमती ३९ वर्षीया भागरथी अवस्थी, छोरा १३ बर्षीय बालकृष्ण अवस्थी घाइते भएका थिए।
सो मोटरसाइकल शिवराजले नै चलाइरहेका थिए। उनकी श्रीमती भागरथी दुर्घटनामा गम्भीर घाइते भएकी थिइन्। उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगाीले जानकारी दिए।
शिवराज र छोरा बालकृष्ण भने उपचार पछि डिस्चार्ज भएका छन्।
घटनापछि बस र बस चालक ३२ वर्षीय नरेन्द्रसिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।