काठमाडौं महानगरपालिकाले सहायता कक्षमा सांकेतिक भाषाको अनुवादक अर्थात् दोभासे राख्ने भएको छ।
सोमबार बसेको सामाजिक समितिको बैठकले काठमाडौं प्लाजास्थित केन्द्रीय कार्यालयको सहायता कक्षमा दोभासे राख्ने निर्णय गरेको समितिका संयोजक रामकुमार केसीले जानकारी दिए।
उनका अनुसार भाषा अभिव्यक्त गर्न नसकेका कारण वा आफूले अभिव्यक्त गरेको भाषा कार्यालयका अधिकारीलाई बुझाउन नसकेकै कारण महानगरको सेवाबाट बञ्चित हुन नपरोस् भनेर दोभासे राखिएको हो।
'कार्यालयमा उपलब्ध गराउने यो सेवासँगै आवश्यकताका आधारमा लक्षित वर्गलाई सांकेतिक भाषाको तालिम समेत उपलब्ध गराउँछौं,’ उनले भने।
बैठकमा चालु आर्थिक वर्षमा सामाजिक विकास विभागले कार्यान्वयन गर्नुपर्ने योजनाबारे समीक्षा गरिएको थियो।