काठमाडौं महानगरपालिकाको सूचना प्रविधि समितिले आउँदो चैत महिनामा 'सूचना प्रविधि सम्मेलन' आयोजना गर्ने भएको छ।
मंगलबार बसेको बैठकले महानगरबासीलाई आउँदो चैत महिनामा 'सूचना प्रविधि सम्मेलन' आयोजना गर्ने तयारी गरिरहेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।
सरल, सहज र अनुमान योग्य सेवा प्रदान गर्न अत्याधुनिक आविष्कार, नविनतम सोच र प्रविधिलाई जोड्न उक्न सम्मेलन आयोजना गरिन लागेको हो।
उनका अनुसार अहिले महानगरले डिजिटल सिग्नेचर सेवा प्रयोगमा ल्याइसकेको छ भने कतिपय सेवाका लागि प्रणाली परीक्षण भइरहेका छन्।
‘सम्मेलनले दिएको निचोड र सिफारिसहरू, काठमाडौंका जनता र नागरिकहरूलाई प्रविधिमा आधारित गुणस्तरीय सेवा दिन, सेवाग्राहीलाई डिजिटल आचारण विकास गर्न आवश्यक पर्ने नीति निर्माणको आधार हुनेछ,’ उनले भने।
यस्तै, सम्मेलनबाट प्राप्त प्राज्ञिक तथा उपयोग योग्य प्रविधिले महानगरपालिकाको मात्र नभई समग्र सरकारी कार्य प्रणालीलाई रूपान्तरण गर्ने सूचना प्रविधि विभागका प्रमुख महेश काफ्लेले बताए।