गुरूकुल एकेडेमीले तुलसीपुरको मुख्य बजारमा अनधिकृत रूपमा राखेको विज्ञापन हटाइएको छ।
तुलसीपुरको मुख्य बजार (क) लाइनको बिरूवा पेटीको रेलिङमा अनधिकृत रूपमा राखेका विज्ञापन नगर प्रहरीले मंगलबार दिउँसो हटाएको हो।
तुलसीपुर उपमहानगरपालिकाले नगर प्रहरी परिचालन गरी गुरूकुलले स्वैच्छिक रूपमा टाँगेका विज्ञापन हटाएको हो।
तुलसीपुरको ग्रीन बेल्टमा नगरको स्वच्छता, सुन्दरता र अन्य यस्तै सार्वजनिक चेतनाका लागि सूचना टाँग्न बनाइएको स्थानमा केही दिन पहिले गुरूकुलले मनपरी आफ्नो विज्ञापन झल्कने ७५ वटा ब्यानर टाँगेको थियो।
मेयर टीकाराम खड्काले कसैले पनि स्वैच्छाचारी रूपमा बजारमा अनधिकृत विज्ञापन टाँग्न नपाउने हुँदा हटाउन निर्देशन दिइएको बताए।
तुलसीपुरमा गुरूकुल दर्ता नै नभएको र दर्ता नै नभएको संस्थाले आफूखुसी विज्ञापन गर्नु आपत्तिजनक रहेको मेयर खड्काले बताए।
मेयरको निर्देशनपछि तुलसीपुर–३ का वडाध्यक्ष विजय विक नगर प्रहरीसहित विज्ञापन हटाउन गएका थिए।
‘उपमहानगरमा दर्ता नै नभई मनोमानी ढंगले गरिएको विज्ञापन अनधिकृत थियो,’ मेयर खड्काले भने, ‘विधिवत रूपमा दर्ता भई करको दायरमा आएपछि स्वीकृति लिएपछि मात्रै कुनै संघ संस्थाले यसरी विज्ञापन गर्न पाउने छन्।’
घोराहीबाट मात्रै सञ्चालन हुँदै आएको गुरूकुल एकेडेमीले आउँदो शैक्षिक सत्रदेखि तुलसीपुरमा पनि शाखा विस्तारको तयारी गरेको छ। त्यसबारे सूचना दिन उसले राप्ती राजमार्ग अन्तर्गतको मुख्य सडक खण्डको बजार क्षेत्रमा स्वैच्छाचारी रूपमा विज्ञापन गरेको हुँदा ती हटाउन लगाइएको मेयर खड्काले बताए।