राजस्व अनुसन्धान कार्यालय बुटवलले सपना साडी सेन्टर बुटवलका प्रोप्राइटर राजेन्द्रप्रसाद ध्वजूविरूद्ध बिगो र जरिवानासहित साढे ६ करोड बढी असुलउपर गराउनुपर्ने माग दाबीसहित तुलसीपुर उच्च अदालत बुटवल इजलासमा मुद्दा दायर गरेको छ।
ध्वजू बुटवल उपमहानगरपालिका वडा नं. ५ अमरपथमा रहेको सपना साडी सेन्टरका प्रोप्राइटर हुन्।
उक्त सेन्टरले ठूलो परिमाणका कपडा राजस्व छलेर ल्याई बिक्री वितरण गरेको आरोपमा बिगो र जरिवाना गरी ६ करोड ६३ लाख ४९ हजार ४८ रुपैयाँ असुल उपरका लागि मागदाबी गर्दै राजस्व अनुसन्धान कार्यालयले अदालतमा मुद्दा दायर गरेको हो।
सपना साडी र त्यसका सञ्चालक ध्वजूले साढे ६ करोड बढी राजस्व छली तथा चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको कार्यालयले जनाएको छ।
३ करोड ३१ लाख ७४ हजार ५ सय २४ बिगो तथा त्यसको शतप्रतिशत जरिवानासहित ६ करोड ६३ लाख ४९ हजार ४८ रुपैयाँ असुल उपरका लागि मागदाबी गरिएको कार्यालयले जनाएको छ।
राजस्व अनुसन्धान कार्यालय बुटवलले विशेष सूचनाका आधारमा २०७९ फागुन २ गते उक्त पसल र गोदाममा छापा हानेर पसलका कपडा मालवस्तुको मौज्दात विवरण, खरीद/बिक्री खाता, स्टक बुक, बिलका अर्धकट्टी नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।
कार्यालयका अनुसार पसल तथा गोदाममा मालवस्तुहरू खरिद गरिएको भन्दा बढी देखिएको र पसल सञ्चालकले खरिद स्रोत नदेखाएपछि बिगो र जरिवाना सहितको मागदाबी गरी मुद्दा दर्ता गरिएको कार्यालयले जनाएको छ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासमा गत पुस २ गते मुद्दा दायर गरेको राजस्व अनुसन्धान कार्यालयले पसल र गोदाममा खरिद भन्दा अधिक रहेको मालवस्तुको भन्सार तर्फको बिगो ३ करोड ४ लाख ४३ हजार ९ सय ४३, मूल्य अभिवृद्धि करतर्फ १ लाख ५४ हजार ५ सय ३६ र न्यून मौज्दाततर्फ २५ लाख ७६ हजार ४५ गरी कूल ३ करोड ३१ लाख ७४ हजार ५ सय २४ रुपैयाँ बिगो सहितको मागदाबी गरेको छ।
साथै मागदाबी गरिएको बिगोको शतप्रतिशत जरिवाना समेत असुल गर्नुपर्ने भन्दै मुद्दा दर्ता गरिएको कार्यालयका एक अधिकृतले बताए।
राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को दफा २३(१) बमोजिम बिगो असुल उपर गरी शतप्रतिशत जरिवाना मागदाबी गरिएको ती अधिकृतले बताए।
सपना साडी सेन्टरका प्रोप्राइटर ध्वजूलाई पटक-पटक बोलाएर बयान लिन खोजिए पनि उनी उपस्थित नभएपछि फरारको सूचीमा राखेर खोजी भइरहेको कार्यालयले जनाएको छ।