दक्षिण कोरिया सरकारले नेपालको भूकम्प प्रभावित कर्णालीलाई ३ लाख अमेरिकी डलर सहयोग गरेको छ।
बुधबार काठमाडौंमा कार्यक्रम गर्दै उक्त रकम संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) मार्फत् आवश्यक मानवीय सामग्री हस्तान्तरण गरेर सहयोग गरेको हो।
कात्तिक १९ गते जाजरकोट र रूकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा १ सय ५७ जनाको ज्यान गएको र कर्णाली प्रदेशका तीन लाख जना प्रभावित भएपछि दक्षिण कोरियाले प्रभावित समुदायमा सहयोग गरेको दक्षिण कोरियाली राजदूत एच. ई. तेयोङ पार्कले जानकारी दिइन्।
उक्त कार्यक्रममा बोल्दै उनले भनेकी छन्, 'युएनएफपिएसँगको सहकार्यमा भूकम्पबाट प्रभावित अति जोखिममा परेका समुदायहरूलाई सहयोग गर्छौं।'
सन् २०१५ मा आएको भूकम्प र कोभिड-१९ को महामारीमा पनि सहयोग गर्दै आएको उनले जानकारी गराइन्।
'यो सहयोगले भूकम्पबाट प्रभावित समुदायमा पुन: लाभमा सहयोग पुग्ने विश्वास छ,' उनले भनेकी छन्।
गत कात्तिकको भूकम्पले महिला तथा किशोरीहरूलाई यौन र अन्य हिंसा, शोषण, र दुर्व्यवहारको उच्च जोखिममा पारेको छ। कतिपय स्वास्थ्य संस्थाहरूको भवन नष्ट भएको र स्वास्थ्यसम्बन्धी अत्यावश्यक सामग्रीको अभाव झेलिरहेका छन्।
यस सहयोगले प्रभावित महिला र किशोरीहरूलाई उनीहरूको सरसफाइ, महिनावारी स्वच्छता, र यौन र प्रजननसम्बन्धी सहयोग र सेवाहरु पुर्याउन युएनएफपिएलाई सक्षम बनाएको छ।
दक्षिण कोरियाको सहयोगमा, युएनएफपिएले आगामी तीन महिनामा ४० हजारभन्दा बढी महिला तथा बालिकाहरूलाई सेवा दिने योजना छ।
त्यसअन्तर्गत पाँच हजार न्यानो कपडा तथा सामग्री, दुई हजार डिग्निटी (मर्यादा) किट, र विभिन्न स्वास्थ्य किटका १४ वटा सेट लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री वितरण कार्य जारी रहने उनले बताएकी छन्।