महिलाको हत्या गरी ६ वर्षदेखि फरार रहेको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ।
अर्घाखाँचीको शितगंगा नगरपालिका-१४ की ३७ वर्षीय जगत विश्वकर्मालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो।
भारतबाट नेपाल आउँदैछन् भन्ने सूचनाका आधारमा प्रहरीले उनलाई खोजी गरेको थियो।
०७४ पुस ३० गते काठमाडौं महानगर १४ बल्खु भुवनेश्वर मन्दिर नजिकै महिलाको शव फेला परेको थियो।
मकवानपुर हाँडीखोलाकी ५० वर्षीया अप्सरा भन्ने नारायणी तिमिल्सिनाको शव फेला परेको थियो। उनी मजदुरी गर्थिन्। टाउको, मुखमा चोट लागेको अवस्थामा उनको शव फेला परेको थियो।
उनको हत्या भएको ६ वर्षपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकी डिएसपी सुरक्षा केसी नेतृत्वको टोलीले आरोपी जगतलाई पक्राउ गरेको हो। यो घटनामा संलग्न रहेका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-३ तल्लो पोखराका ४६ वर्षीय शिवराम अधिकारी भने कारागारमै रहेको प्रहरीको भनाइ छ। उनी ०७९ कात्तिक २९ गते चोरी मुद्दामा पक्राउ परी ३ वर्ष कैद सजाय भएर केन्द्रीय कारागारमा छन्।
उनी जेलमा आफ्नो नाम परिवर्तन गरी बसेका थिए। चोरी मुद्दामा पक्राउ परेपछि आफ्नो नाम अर्जुन अधिकारी भनेर उनले भनेका थिए।
यो घटनामा पनि आफ्नो संलग्नता नभएको भन्दै अस्वीकार गर्दै आएका उनले विश्वकर्मा पक्राउ परेपछि भने स्वीकार गरेका थिए।
हत्या भएकी तिमिल्सिना र अधिकारीबीच चिनजान थियो। जगतसँग भने नारायणीको चिनजान थिएन। शिवरामले नारायणीलाई भूपू सेनासँग विवाह गराइदिने र त्यसका लागि गहना लगाएर र २०/४० हजार रकम साथमा लिएर आउनु भनेका थिए।
उनीहरूबीच ०७४ पुस २९ गते माछापोखरी क्षेत्रमा भेट भएको थियो। त्यहाँ करिब ३ घण्टा बसेर खानपिन गरी उनीहरू बल्खु पुगेका थिए। साँझ उनीहरू बल्खुको खोला किनारमा रहेको मन्दिर पछाडि बसेका थिए। त्यही मन्दिर पछाडि शिवराम र नारायणी करिब दुई घण्टा सुतेका थिए।
त्यसपछि भने शिवराम र जगतले ढुंगाले उनको टाउकोमा हिर्काएर सुनको मुन्द्री र खल्तीमा भएको ६/७ सय लिएर भागेका थिए। उनीहरू त्यसदिन गोंगबुको कोपिला गेष्ट हाउसमा बसेर अर्को दिन उदयपुरको कटारी गएका थिए।
त्यसयता उनीहरू फरार रहेका थिए। अनुसन्धानका क्रममा प्रहरीले उनीहरू दुवै जनालाई पक्राउ गरेको हो।
कानुनी कारबाहीका लागि साउनमै पीडित परिवारले प्रहरी वृत्त कालिमाटीमा जाहेरी दिएका थिए। थप अनुसन्धान गर्न कार्यालयले उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ।