सर्वसाधारणले सहकारीमा बचत गरेको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रमण पौडेल र किरण अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्दा आफूहरूले रजिष्ट्रारलाई घुस खुवाएको बताएका छन्।
पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पौडेल र व्यवस्थापक अधिकारीले स्याङ्जामा सहकारीको सेवा केन्द्र विस्तार गर्दा तत्कालीन सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका प्रमुख रजिष्ट्रार उदयबहादुर पराजुलीलाई १ करोड १५ लाख रूपैयाँ घुस दिएको बताएका हुन्।
पौडेल र अधिकारीलाई सर्वसाधारणले बचत गरेको २६ करोड रूपैयाँ अपचलन आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रहरी अनुसन्धानका क्रममा उनीहरूले पराजुलीलाई घुस खुवाएर कार्यक्षेत्र विस्तार गरेको बयान दिएका हुन्।
पौडेल र अधिकारीले तत्कालीन रजिष्ट्रारलाई घुस खुवाएको बताएपछि पराजुलीलाई पनि पक्राउ गर्न जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको छ। अदालतले बिहीबार पराजुलीलाई सहकारी रकम अपचलन मुद्दामा पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको स्रोतले जनाएको छ।
सहकारीले पोखरासहित स्याङ्जाको आँधीखोला गाउँपालिकामा सेवा केन्द्र स्थापना गरेको थियो। सहकारीले स्थानीय तहभन्दा बाहिर शाखा वा सेवा केन्द्र सञ्चालन गर्दा सहकारी रजिष्ट्रारको कार्यालयबाट अनुमति लिनुपर्छ। अदालतले पक्राउ पुर्जी जारी गरेपछि पराजुली सम्पर्कविहीन छन्।
पराजुली हाल पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छन्। कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले प्रशासकीय अधिकृत एक सातादेखि बिदामा बसेको बताए।
‘प्रमुख प्रशासकीय अधिकृत सहसचिवको जाँच दिन काठमाडौं जाने भनेर बिदा बसेका छन्,’ मेयर जोशीले भने, ‘उहाँले ११ गतेसम्मका लागि बिदा लिनुभएको छ।’
सहकारीको कार्यक्षेत्र विस्तार गर्दा भ्रष्टाचार गरेको आरोपमा पक्राउ पुर्जी जारी भएकाबारे आफूले पनि थाहा पाएको जोशीले बताए।
‘उहाँलाई पक्राउ पुर्जी जारी भएको थाहा पाएँ, अहिले उहाँ सम्पर्कमा हुनुहुन्न,’ उनले भने।
पराजुली २०६९ भदौ दोस्रो सातासम्म सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका प्रमुख थिए। सहकारी रजिष्ट्रारका रूपमा झण्डै २ वर्ष उनी पोखरा बसेका थिए। उनी रजिष्ट्रार भएकै बेला मित्रमिलन सहकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गरेको थियो। यसबारे सेतोपाटीले बुझ्न खोज्दा पराजुलीको फोन स्विच अफ छ।
कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले पक्राउ पुर्जी जारी भएपछि पराजुलीको खोजी भइरहेको उनले बताए।
उक्त सहकारीको बचत रकम अपचलन आरोप लागेका पोखरा–२१ का वडाध्यक्ष दीपक सुवेदीसहित ३० जना भने फरार छन्। उनीहरूलाई पक्राउ गर्न मंसिर १८ गते नै पक्राउ पुर्जी जारी भइसकेको छ।
सहकारीको रकम अपचलन गरेर फरार भएकाहरूको खोजी तीव्र पारेको एसपी थापाले बताए।