धनगढी उपमहानगरपालिकाका नगरप्रमुख समेतविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
जग्गा प्लटिङसम्बन्धि कार्यविधिमा नगरप्रमुख गोपाल हमालले एकलौटी गरेको र उपमहानगरपालिकावासीलाई अफ्ठेरो पारेको आरोप लगायर रिट दायर भएको हो।
कैलाली जिल्ला जग्गा तथा आवास संघका अध्यक्ष उपेन्द्रप्रसाद अवस्थीले जग्गा प्लटिङसम्बन्धि कार्यविधि खारेजीको माग गर्दै रिट दायर गरेका हुन्। कैलालीका केही जग्गा व्यवसायीलगायत धनगढी उपमहानगरपालिकावासीलाई समेत अप्ठेरोमा पार्ने किसिमले निर्णय गरिएकाविरुद्द रिट दायर गरेको अवस्थीले बताए।
गत मंसिर २५ गते उपमहानगरपालिकामा जग्गा प्लटिङसम्बन्धि कार्यविधि राजपत्रमा प्रकाशन गरेको थियो। पुस ३ गते एकलौटी रूपमा नगर प्रमुख हमालले सो कार्यविधि लागु गर्न खोजेको भन्दै विभिन्न वडाका अध्यक्ष एवं कार्यपालिका सदस्यले असन्तुष्टि प्रकट गरेका थिए। नगरप्रमुख हमालको एकलौटी निर्णयप्रति असन्तुष्टि प्रकट गरी उक्त कार्यविधि खारेजीको माग पनि उनीहरूले गरेका छन्।
आइतबार पत्रकार सम्मेलन गर्दै कार्यविधिमा गरिएको व्यवस्थाप्रति असन्तुष्ट बनेका वडा अध्यक्षहरुले ऐन, कानून र प्रकृया नपुर्याएर जारी गरिएको कार्यविधि खारेजीको माग गरेका छन्। उनीहरूले प्रेस विज्ञप्ती जारी गर्दै यस्तो माग राखेका हुन्।
सर्वोच्च अदालतले पुस ११ गते नगरप्रमुख हमाललाई पेशी तारेखमा हाजिर हुन आउनु भनेको छ।
नगरप्रमुख हमालले सर्वोच्चमा मुद्दा परिसकेकाले आपसमा बहस गर्नु भन्दा अदालतको फैसलाको प्रतीक्षा गर्ने बताए।