राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दबाब यात्रा दोस्रो दिन नवलपरासीको चोरमारा पुगेको छ।
नारायणघाट–बुटवल सडकखण्डको निर्माण पूरा गर्न दबाब दिने उद्देश्यले रास्वपाले सुरू गरेको पदयात्रा मंगलबार मध्याह्न चोरमारा पुगेको हो। आज दाउन्नेसम्मको यात्रा गर्ने तयारी रहेको र करिब ५५ किलोमिटर यात्रा पूरा भएको रास्वपाले बताएको छ।
बुटवलसम्मको ११३ किलोमिटर यात्रा पैदलै गर्ने रास्वपाको लक्ष्य छ। पदयात्रामा पार्टी सभापति रवि लामिछाने, सांसदहरू मनिष झा, गणेश पराजुली, निशा डाँगीलगायत छन्।
‘रोकिएर हामीले कुनै कार्यक्रम गरेका छैनौं। नागरिकहरूले स्वःस्फूर्त रूपमा हातमा फूल लिएर उभिनुभएको छ। स्वागत गर्नुभएको छ। स्थानीय उत्पादनहरू पनि दिनुभएको छ,’ रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले सेतोपाटीसँग भने।

पदयात्राका क्रममा स्थानीयले सडक समयमै नबन्दा छारोधुलो खानुपरेको, व्यापार व्यवसाय चौपट भएको र विस्थापित हुनुपरेको पीडा सुनाएको बोहराले बताए।
‘रास्वपा सभापति सहितको टोली आउने भएपछि पानी हाल्न लगाएका रहेछन्। त्यसले धुलो उड्न कम्ती भए पनि बाटोको दुरावस्था छ,’ उनले भने।
२०७५ माघमा सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनबीच ४२ महिनाभित्र काम सक्ने गरी सम्झौता भएको थियो।
सम्झौताअनुसार अघिल्लो साउन २२ भित्र निर्माण सम्पन्न हुनुपर्ने थियो। एक वर्ष म्याद थप गर्दा पनि साढे २० प्रतिशत पनि काम पूरा भएको छैन।
गैंडाकोटबाट दाउन्नेसम्मको ६४.५ किलोमिटरको प्याकेज–१ र दाउन्नेबाट बुटवल चौराहासम्मको ४८.५ दोस्रो प्याकेज बनाएर काम भइरहेको आयोजनाले बताएको छ।

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा कुल १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गको यस खण्डको विस्तार भइरहेको हो।
लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ। एडिबीले १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो।